डडेलधुरा सभापति कर्णबहादुर मल्ल भन्छन्- 'हाम्रो माग ७६ जिल्लामा जसरी अधिवेशन भइरहेको छ, हामी कहाँ पनि त्यसरी नै अधिवेशन हुनुपर्छ भन्ने मात्रै हो ।’
काठमाडौँ — ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालय ६ महिनायता नेता कार्यकर्ताबाट घेरिएको छ । १४ औँ महाधिवेशनको मिति जति नजिकिँदै गयो, त्यति नै धेरै नेता कार्यकर्ताको असन्तुष्टि पोख्ने थलो बनेको छ कांग्रेस मुख्यालय । कोही कांग्रेसको सदस्य बन्न पाउनुपर्छ भनेर आन्दोलनमा उत्रिए, कोही विधान विपरीत सदस्यता दिनुहुँदैन भनेर । थरिथरि माग लिएर बसेका कार्यकर्ताको माग भने नेताहरूले सुनेका छैनन् ।
बरु जिम्मेवारीमा रहेका नेताहरू पाँच महिनादेखि केन्द्रीय कार्यालय नै गएका छैनन् । कार्यकर्ताको माग सम्बोधन गर्नुभन्दा कार्यालय नै नजानु उत्तम लागेको छ, नेताहरूलाई । गुनासै–गुनासाकाबीच महाधिवेशनको प्रक्रिया अघि बढेको छ ।
केन्द्रीय महाधिवेशनकै मिति नजिकै आइपुग्दासमेत माग सुनुवाई नभएपछि ११८ दिनदेखि रिले–अनशनमा बसेका रौतहटका नेता कार्यकर्ता रित्तो हात घर फर्किएका छन् । रौतहटका नेताहरूले बुधबार कांग्रेस कार्यालयको चिसो भुइँ छाडे । तर, बुधबारै आइपुगेका छन्, डडेलधुरा सभापति कर्णबहादुर मल्लसहित २१ जना नेता कार्यकर्ता । सदस्यताको विवादकाबीच सभापति शेरबहादुर देउवा समूहले जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढाएपछि समस्या समाधान गरेर अधिवेशन थाल्नुपर्ने उनीहरूको माग छ ।
रौतहटका नेता कार्यकर्ताले पनि क्रियाशील सदस्यताकै विषय उठाएका थिए । तर, उनीहरूको माग सुनुवाई भएन, बरु २७ कात्तिकमा उनीहरूलाई पेलेरै वडा अधिवेशन भयो । ‘हामीले ११८ दिनसम्म धर्ना दियौँ, गुनासो गर्यौँ, माग राख्यौँ । तर, हामीलाई कसैले सुनेनँ,’ रौतहट कांग्रेसका कोषाध्यक्ष रामश्रेष्ठ साहले भने, ‘अनि विधानविपरीत डकैती शैलीमा जिल्लामा वडा अधिवेशन नै भइसक्यो । त्यसैले अब पार्टी जोगाउन सकिएन, आफ्नो ज्यान जोगाऔँ भनेर घर फर्किदैछौँ ।’
जिल्ला सभापति र क्षेत्रीय सभापतिले मिलेमतो गरेर जिल्लामा गुटका आधारमा क्रियाशील सदस्यता वितरण र नवीकरणमै अन्याय भएको उनीहरूको गुनासो थियो । त्यही विषयलाई लिएर पूर्वराज्यमन्त्री बज्रकिशोर सिंहसहित नेता कार्यकर्ता रिले अनशनमा बसेका थिए । कोषाध्यक्ष साहसहित महासमिति सदस्यहरू श्यामचन्द्र झा र सन्तलाल साह, महाधिवेशन प्रतिनिधिहरू उदय यादव, तेजनारायण साह, केशव सिंह, हरिचन्द्र यादव र नवल साह, दुर्गावती गाउँपालिका सभापति सकुर मियाँ, क्षेत्रीय सदस्य भोगेन्द्र झा लगायत रिले अनशनमा थिए ।
‘हामी थाक्यौँ । पार्टीमा लोकतन्त्र समाप्त भएछ । हामीलाई कसैले सुनेन । ज्ञानेन्द्रले २४ दिनमा सुने । वीरेन्द्रले २५ दिनमा सुने । जनताले लडेरै १०४ वर्षे राणा शासन फाले । तर, हामीले ११८ दिनसम्म धर्ना दिँदा पनि हाम्रो नेताहरूले सुनेनन्,’ कोषाध्यक्ष साहले इकान्तिपुरसँग भने, ‘नेताहरू लोकतान्त्रिक पार्टी भन्छन् । कांग्रेसमा कहाँ बाँकी छ लोकतन्त्र ?’
उनले आफूहरूले सर्वस्व त्यागेर पार्टीमा लोकतन्त्र र विधानको कुरा उठाएपनि साथ नपाएको गुनासो गरे । ‘हामी ४ महिनादेखि यही छौँ । हाम्रो खेतीपाती गयो, बरु उल्टै ज्यान जोखिममा पारेर हामी बस्यौँ । अब त शरीर नि कमजोर भइसक्यो,’ उनले भने, ‘तर, हामीले व्यक्तिगत कुरा गरेका थिएनौँ । विधि, पद्धति र सिद्धान्तको कुरा गर्दा नेताहरूले सुनेनन् ।’ सभापति देउवाले नै आफूहरूको माग सम्बोधनमा चासो नदिएको उनीहरूको गुनासो छ । ‘पार्टी सभापतिले कार्यालयमा आएर हामीलाई भेट्ने कुरा छोड्नुस् । २/२ पटक केन्द्रीय समिति बस्यो । ४/५ पटक पदाधिकारी बैठक बस्यो । तर, ती कुनै बैठक केन्द्रीय कार्यालयमा भएनन्, त्यसको कारण हाम्रो कुरा सुन्नुपर्छ भन्नेमात्रै थियो,’ उनी भन्छन्, ‘यतिसम्म कि संस्थापन नेताहरू बीपी र गणेशमानको जन्मजयन्ती समेत केन्द्रीय कार्यालयमा मनाइएन । अष्टमीमा पार्टीको फेर्ने कामसमेत हामी आफैँले गर्यौँ । देउवाजीले पार्टीको कार्यालय आउने हिम्मत गर्नुभएन ।’
उनले अब आफ्ना मागहरू केन्द्रीय महाधिवेशनमै उठाउने बताए । ‘हाम्रो जे माग छ, त्यो प्रमाणसहित हामी केन्द्रीय महाधिवेशनमा आउँछौँ । देशभरिका महाधिवेशन प्रतिनिधि र महासमिति साथीहरूसँग न्याय माग्छौँ । कम्तिमा न्याय गर्न सक्ने नेतृत्व छानौँ भनेर साथीहरूलाई आग्रह गर्छौँ,’ उनले भने ।
डडेलधुराका नेता भन्छन्, ‘हामीलाई आशा छ’
अनशन बसेर थकित रौतहटका नेता घरतिर लाग्दै गर्दा बुधबार डडेलधुराका नेता कार्यकर्ता कांग्रेस मुख्यालय आइपुगे । त्यति लामो संघर्षमा निराश रौतहटलाई देखेर पनि डडेलधुराका नेता कार्यकर्ताले भनिरहेका थिए, ‘हामीलाई आशा छ ।’ डडेलधुरा सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । देउवा आफूले गत आमनिर्वाचनमा मात्रै होइन, ०४८ साल यता निरन्तर निर्वाचित भएर जनप्रतिनिधि बनेको, सांगठनिक पकड र प्रभाव क्षेत्र नै हो, डडेलधुरा । तर, १४ औँ महाधिवेशनका क्रममा भएको असमझदारीले ती नै डडेलधुराका कांग्रेस कार्यकर्ता धर्ना र रिले अनशनका लागि काठमाडौं आइपुगेका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार डडेलधुरामा २५ भदौमा वडा अधिवेशन भयो । त्यसपछि पालिका तहको अधिवेशन पनि भइसकेको छ । र, प्रदेशसभा क्षेत्रीय अधिवेशन पनि हुँदैछ । तर, त्यो प्रक्रियाभन्दा बाहिर छन्, जिल्ला सभापति कर्णबहादुर मल्ल । जिल्ला कार्यसमितिका बहुमत सदस्यको निर्णय विपरीत निर्वाचन समितिले केन्द्रीय सभापति देउवाको प्रभावमा एकलौटी रुपमा अधिवेशन गराएको मल्लको आरोप छ । ‘डडेलधुरामा जसरी अधिवेशन भइरहेको छ, त्यसरी अरु कुन जिल्लाको, कुन वडा, पालिका, प्रदेश र प्रतिनिधिसभामा अधिवेशन भइरहेको छ ?,’ मल्लले प्रश्न गर्छन्, ‘त्यसैले हाम्रो माग ७६ जिल्लामा जसरी अधिवेशन भइरहेको छ, त्यसरी नै अधिवेशन हुनुपर्छ भन्ने मात्रै हो ।’
मल्ल दोस्रो पटक जिल्ला सभापति भएका हुन् । देउवाकै फेरो समातेर राजनीतिमा आएका मल्ल देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवनै थिए । पछि देउवाले नै मल्ललाई जिल्ला सभापति बनाए । अघिल्लो निर्वाचनदेखि देउवा र मल्लबीच खटपट सुरु भयो । अहिले क्रियाशील सदस्यता वितरण र नवीकरणको विषयमा देउवा–मल्लबीचको खटपट छताछुल्ल बनेको हो ।
क्रियाशील सदस्यताको सूचीमा जिल्लाबाट सिफारिस भएका नाम काटेर केन्द्रबाट सिधै नाम थपेर पठाइएकोमा मल्ल असन्तुष्ट छन् । क्रियाशीलको त्यो समस्या समाधान गरेर अधिवेशनको प्रक्रिया अघि बढाउने मल्लको अडान थियो । तर, देउवा समूहले निर्वाचन समितिमार्फत् डडेलधुरामा मल्ललाई सहभागी नै नगराई अधिवेशन गरायो, प्रहरी घेराभित्र ।
‘यहाँ वडा सभापतिले नचाहेको अवस्थामा त वडाको अधिवेशन रोकिएको छ भने हाम्रोमा म सभापतिले मात्रै होइन, जिल्ला कार्यसमितिको बहुमतले निर्णय गरेर सहमतिको वातावरण बनाउनुपर्छ भन्दाभन्दै किन एकलौटी अधिवेशन भएको हो ? कि निर्वाचन समितिले मात्रै अधिवेशन गराउन सक्ने हो ?,’ मल्ल प्रश्न गर्छन् ।
देउवाले आफ्नै जिल्लाका असन्तुष्ट नेता कार्यकर्तालाई भेट समेत दिएनन् । ‘हामीलाई सभापतिलाई भेट नै दिनुभएन । हामीले लेखेरै आग्रह भेट दिन र हाम्रो पीडाहरूलाई सम्बोधन गरिदिन आग्रह गरेका हौँ, पटक–पटक भनेका छौँ । तर, उहाँले वास्ता गर्नुभएन,’ मल्लले भने, ‘तर, हामीलाई अझै पनि आशा छ, हामीले शेरबहादुर देउवालाई चुनेका हौँ । अहिले उहाँ पार्टीको सभापति मात्रै होइन, देशकै अभिभावक हुनुहुन्छ । उहाँले धरातल बिर्सिनुभएको छ । उहाँलाई जुन तागतले त्यहाँ पुर्याएको हो, त्यही तागत, ती नै कार्यकर्तामाथि उहाँले अपराध गर्नुभएको छ, अन्याय गर्नुभएको छ । अझै सच्याउने मौका छ, हामी त्यो गल्ती उहाँलाई गर्न दिदैनौँ ।’
मल्लले जिल्लाभरका पाँच हजार ८०४ क्रियाशील सदस्यले सहभागी हुन पाउने गरी अधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने माग गरे ।
