१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कार्यकर्ताले अध्यक्षमा उठ्नुस् भन्नुभयो, मैले त्यस कुराको कदर गर्छु भनेँ : रावल

सुदूरपश्चिम एमालेमा स्वेच्छाचारिताको निकृष्ट नमुना देखियो
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

कार्यकर्ताले अध्यक्षमा उठ्नुस् भन्नुभयो, मैले त्यस कुराको कदर गर्छु भनेँ : रावल

पार्टी कार्यकर्ता र जनताले अध्यक्षमा उठ्नुस् भनेको कुराको आफूले कदर गर्ने रावलले बताए । 'कार्यकर्ता र जनताहरूले तपाईं अध्यक्षमा उठ्नुपर्छ भनेर भन्नुभयो,' उनले कान्तिपुरसँग भने, 'म जहिले पनि कार्यकर्ता र जनताको भावना कदर गर्ने मान्छे हुँ, तपाईंहरूले भनेका कुराको पनि कदर गर्छु भनेको छु ।'

चुनावमा जित र हार हेरेर उम्मेदवारी नहुने रावलको भनाइ थियो । उनले भने, 'चुनावमा जित्ने, हार्ने कुराको पनि वास्ता गर्दिनँ । हिजो केपी ओलीले पनि ८ औँ महाधिवेशनमा हार्नुभएको हो । मैले पनि विगतमा हारेको हो । जनता र कार्यकर्तालाई तपाईंहरूको भावनाको पनि कदर गर्छु, अध्यक्ष उठ्नेबारे थप सल्लाह गर्छु भनेको छु ।'

रावलले चितवनमा हुने १० औं महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्नेबारेमा जनता र कार्यकर्तासँग परामर्श गरिरहेको र अन्तिम निर्णय काठमाडौं फर्किएपछि लिने बताए । 'कार्यकर्ता र जनताको कुरा सुन्दै छु । लामो समयदेखि चुनाव लडेको मान्छे हो । कसैले जसो अर्को पार्टीबाट फुत्त आएर म नै हुँ सर्वेसर्वा भनेको होइन । त्यसैले कार्यकर्ताको परामर्शमा छु । अब हेरौं के हुन्छ,' उनले भने, 'काठमाडौं फर्किएपछि निर्णय हुन्छ । महाधिवेशन नजिकै आइसकेको छ । अब त्यहाँ कुरा होला । कुनै न कुनै टुंगोमा त पुग्नुपर्छ ।'

सुदूरपश्चिम एमालेमा स्वेच्छाचारिताको निकृष्ट नमुना देखियो

मंगलबार नै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बसेको थियो । एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको नेतृत्वमा बैठक बसेको थियो । तर त्यसलाई उपाध्यक्ष रावलले भने आलोचना गरेका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटी स्वेच्छाचारी रूपमा अगाडि बढेको रावलको भनाइ थियो । 'लोकतन्त्रका कुरा गर्ने, जनताको बहुदलीय जनवादका कुरा गर्ने अनि सारा विधि र पद्धति मिच्ने ?,' रावलको भनाइ थियो, 'जिल्ला कमिटीसँग सल्लाह नै नगरी प्रदेश कमिटीमा मान्छे नियुक्त गरिएको छ । यस्तो अराजकता, यस्तो स्वेच्छाचारीता मैले मेरो पार्टी जीवनमा कहिले पनि देखेको छैन ।'

सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले गरेका निर्णय आफूलाई मान्य नभएको रावलको भनाइ थियो । पार्टीको सुदूरपश्चिम कमिटीले हाल गरिरहेका क्रियाकलापले एमालेमा ठूलो क्षति हुने उपाध्यक्ष रावलको भनाइ थियो । 'अहिले सुदूरपश्चिममा जुन गरिएको छ यसका परिणाम अब देखिनेछन् । यो स्वेच्छाचारिताको निकृष्ट नमुना हो,' उनले भने ।

१० बुँदे सहमति गरेर एमालेमै रहेका एमाले उपाध्यक्ष रावलले सुदूरपश्चिममा नै उक्त सहमति कार्यान्वयन नगरिएको भन्दै पार्टीभित्र फरक मत राखिरहेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण १० बुँदे कार्यान्वयन नभएको बताएका छन् ।

प्रकाशित : कार्तिक २३, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?