विधान महाधिवेशनमा पेस हुने मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो १० समूह

आश्विन ८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले विधान राष्ट्रिय महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० समूह निर्माण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको पार्टीका प्रचार विभाग प्रमसख योगेशकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा प्रस्तुत तीन प्रतिवेदन (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्तावसम्बन्धी मस्यौदा, विधान संशोधनसम्बन्धी प्रस्ताव) सहित सुझावहरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको छ । 

प्रतिवेदनमाथि छलफल गर्नका निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरुको एक समूह, विभागीय प्रमुखहरुको समूह र प्रदेशमा सम्पर्क कमिटीहरु, उपत्यका विशेष कमिटीलगायतका समूहहरुलाई हेर्न अर्को समूह निर्माण गरेको उनले बताए । प्रतिवेदनमाथि विभिन्न समूहहरुले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे नै बोलाइएको केन्द्रीय कमिटी बैठकमा सुझाव राख्ने कार्यसूची रहेको भट्टराईले बताए । 

भट्टराईले सुझावका आधारमा दस्तावेजहरुलाई आवश्यक परिमार्जन गर्ने र असोजको १५ गतेदेखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने बताए ।

एमाले विधान महाधिवेशन

कान्तिपुर

Link copied successfully