काठमाडौँ — विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने बैठक दुई दिन चल्नेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र संगठन विभागले विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नेछन् । ‘विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि छलफल गरेर पारित गर्ने कार्यक्रम छ,’ कार्यालय सचिव शेरबहादुर तामाङले भने ।
गत आइतबार र सोमबार भएको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरूले सुझाव प्रस्तुत गरेका थिए ।
केन्द्रीय कमिटीबाट अनुमोदन गरिएको राजनीतिक प्रतिवेदन असोज १५ देखि १७ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गर्नेछन् । स्थायी कमिटीको बैठकमा आएका सुझाव समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने अध्यक्ष ओलीले बताएका थिए ।
