खेतबारी र चरन छिचोल्दै गणक


काठमाडौँ — झापाका सुपरिवेक्षक उज्ज्वल प्रकाश खतिवडाले शुक्रबार बिहान गौरीगन्ज–२ तल्लो लालमाटी नेपाल र भारत सीमानामै पुगेर जनगणनाको पहिलो लगत भरेका छन् । महत्त्वपूर्ण सीमास्तम्भ ‘नेपाल १४०/१५’ छेउमै बसेर फोटो खिचाएका छन् ।

सुपरिवेक्षक खतिवडा गौरीगन्ज–२ तुलाचन टोलका हुन् । उनी राष्ट्रिय जनगणनाको पहिलो चरण घर तथा घरपरिवार सूचीकरण कार्यमा तीन दिनदेखि निरन्तर यसरी घरदैलोमा खटिँदै छन् । ‘तल्लो लालमाटीमा ४ घर सन्थाल समुदायको घर छ, जुन टोल भारतको सिमानामा जोडिन्छ,’ खतिवडाले भने, ‘बिहान सखारै खाना खाएर सन्थाल परिवारको लगत भर्दै गएँ । तर एक परिवारका मुली भैंसी लिएर कमल खोलातिर गएछन् । सोधीखोजी गर्दै जाँदा राँगालाई नुहाइदिँदै भेटें । छेउमै सीमास्तम्भ पनि रहेछ । त्यही बसेर सोधपुछ गर्दै सर्वेक्षण फारम भरें ।’
खतिवडाले त्रिवि वातावरण विज्ञान केन्द्रीय विभाग कीर्तिपुरबाट भरखरै स्नातकोत्तर पूरा गरेका छन् । पढ्दै गर्दा काठमाडौंबाट सुपरिवेक्षक फाराम अनलाइनबाट भरेको उनले सुनाए । ‘ऐतिहासिक जनगणनामा सुपरिवेक्षकमा छानिएर आफ्नै गाउँमा काम गर्ने मौका पाउँदा खुसी लागेको छ,’ दुई चरणमा सुपरिवेक्षक तालिम लिएको सुनाउँदै खतिवडाले भने, ‘घरघरमा पुग्दा काममा गइसकेका हुन्छन् । खेतबारीमा काम गर्दै गरेका ठाउँमा पुगेर सोधीबुझी फाराम भर्ने र फर्केर जनगणना लिएको संकेत दिन त्यस घरमा देखिने गरी नम्बर दिने गरेको छु । गाउँघरमा जनगणनाबारे त्यत्ति धेरै थाहा रहेनछ । कात्तिकमा फेरि गणक आउँछन् र त्यतिखेर धेरै कुरा सोध्नु हुन्छ बताइदिनोस् भनेको छु ।’
सुपरिवेक्षक खतिवडाले तीन दिनमा ९० घरको लगत लिइसकेको जनाए । अब सत्र दिनभित्र एक हजार घर भ्याइसक्नु पर्नेछ । उनलाई भाग लगाइएको वडा क्षेत्रमा के कति वटा र कस्ता किसिमका घर तथा घरपरिवार छन् भन्नेबारे जानकारी नरहेको उनले बताए । गाई, भैंसी, बाख्रा, कुखुरा, हाँसजस्ता पशुपंक्षी संख्या कति छन् । जग्गाजमिन, बैंक खाता छ/छैन सोध्ने छन् ।
काठमाडौंपछि ठूलो जिल्ला झापा हो । त्यहाँ दुईवटा जिल्ला जनगणना कार्यालय राखिएका छन् भने देशैभरि सात प्रदेशसहित ८७ कार्यालय छन् । झापाका सुपरिवेक्षक खतिवडा एक उदाहरणमात्र हुन् । यतिखेर ८ हजार ५ सय सुपरिवेक्षक खटिरहेका छन् । प्रत्येक सुपरिवेक्षकलाई झोला, छाता, टर्च लाइट, क्याप, घरपरिवार सूचीकरण प्रश्नावली, डटपेन, मार्कर दिइएका छन् । असोज १८ गतेभित्र सर्वेक्षण कार्य पूरा हुनेछ ।
केन्द्रीय तथ्यांक विभागको निर्देशिकाअनुसार प्रत्येक परिवारलाई घरमै भेट्ने उल्लेख छ । विभागका निर्देशक ढुण्डिराज लामिछानेले घर तथा घरपरिवार सूचीकरण कार्य व्यवहारिक रूपमा खेतीकिसानी गर्ने समय भएकाले कुनै परिवारका मुलीलाई घरवरिपरि मेलापातमा भेटेर जानकारी लिनु अन्यथा नरहेको बताए । ‘तर मान्छे नभेटी अनुमानमा लेख्ने वा चौतारीमा सामूहिक भेटेर लेख्नचाहिँ कानुनविपरीत हो,’ निर्देशक लामिछानेले भने, ‘र, मूल जनगणनाको बेलाचाहिँ प्रत्येक घरको परिवारमुलीलाई घरमै भेटेर विवरण लिनु पर्ने हुन्छ ।’
‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२औं राष्ट्रिय जनगणनाको पहिलो चरण यही असोज १८ गतेभित्र सम्पन्न हुनेछ । त्यसलगत्तै ३९ हजार गणक नियुक्त गरी तालिम दिइने छ । त्यससपछि कात्तिक २५ गतेबाट मंसिर ९ गते देशभरि एक साथ मूल जनगणना हुनेछ । उक्त कार्यमा सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा सामुदायिक प्रश्नावली सोध्ने छन् भने गणकले प्रत्येक घरमा पुगेर ‘मूल प्रश्नावली’ सोधेर भर्ने छन् ।
प्रकाशित : आश्विन १, २०७८ २०:३४