पहिलो चरणको जनगणना बुधबारदेखि, तेस्रोलिंगीलाई समेत समेटिने

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु गर्दै छ । त्यसका लागि देशभरमा ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् । विभागले नयाँ तालिका सार्वजनिक गरेलगत्तै सुपरिवेक्षकलाई तालिम दिएर खटाउने तयारी गरेको हो । सूचीकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

‘बिहीबारबाट देशभरिका ७७ जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुनेछ,’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘सुपरिवेक्षकले प्रत्येक घरमा विवरण भर्नेछन् ।’ घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएको विवरण लिइनेछ ।

व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत उतारिनेछ । त्यसैगरी, सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ ।

सूचीकरण कार्य असोज १८ गतेभित्र सकिने विभागले जनाएको छ । निर्धारित तालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गते सम्पन्न हुनेछ । त्यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामुदायिक प्रश्नावली भर्नेछन् ।


प्रकाशित : भाद्र २९, २०७८ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा चट्याङ लागेर ५ भैंसी मरे

कान्तिपुर संवाददाता

लमजुङ — चट्याङ लागेर क्व्होलासोंथर गाउँपालिका–४ भुजुङको लेक स्यालुमा ५ वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए । सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी बीबहादुर गुरुङ (इना) का हुन् ।

भुजुङस्थित लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङले किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको बताए ।


प्रकाशित : भाद्र २९, २०७८ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×