काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने गृहकार्यलाई तीव्र पारेका छन् । नयाँ दल खोल्ने विषयमा तयारीका लागि बानेश्वरस्थित एक होटलमा नेता नेपाल निकट केन्द्रीय सदस्य तथा सांसदहरुको बैठक भइरहेको छ ।
'दल दर्ता गर्न आयोग जाने तयारी छ । आजै आयोगमा जान्छौं । आवश्यक संख्याको हस्ताक्षर संकलन भइसकेको छ,' एमाले स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले भने ।
केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नयाँ दलको विषयमा विभिन्न नामहरु आएको तर कुन राख्ने भनेर हालसम्म टुंगो नलागेको बताए । 'धेरै केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले अहिले २० प्रतिशतको मात्रै हस्ताक्षर गरेर बुझाउने तयारी छ,' खतिवडाले भने ।
नेता खतिवडाले 'नेकपा एमाले समाजवादी', 'नेकपा समाजवादी,' 'नेकपा क्रान्तिकारी' नाम प्रस्ताव भएको बताए । 'माधवकुमार नेपालले नामलाई फाइनल गर्नु भएको छैन,' खतिवडाले भने, 'चुनाव चिन्हमा खुला किताब प्रस्तावित भएको छ ।'
नेता नेपालले मंगलबार आयोजना गरेको बैठकहरुमा समेत अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको र राजनीतिक दल सम्बन्धी अध्यादेश आउने बित्तिकै नयाँ दल दर्ता गर्ने बताएका थिए ।
