कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस

मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी प्रस्तावित
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश भएको छ । नयाँ सरकार गठनको लागि लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस

मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरी गठबन्धनले आफ्नो सरकारको दाबी पेस गरेको माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए । चारै दलको संसदीय दलको नेता, दलको निर्णय र सिफारिससहित प्रदेश प्रमुखकोमा गएका थिए ।

दलहरुको दाबीसहितको पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले समयसिमाभित्र अरुको दाबी आउने नआउने हेर्ने र मुख्यमन्त्रीको दाबीमाथि अध्ययन गरी नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।

एमालेकातर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बुधबार सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्ने समय तोकिएको छ । एमाले भने सरकारको दाबी पेस गर्ने पक्षमा छैन ।

गठबन्धनले आजै मुख्यमन्त्रीको नियुक्ति शपथसहित ४ जनाको मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्री सहित माओवादी केन्द्रबाट २, नेपाली कांग्रेस र जनता समाजवादीबाट एक एक जना सहभागी हुने गठबन्धनको तयारी छ ।

मुख्यमन्त्रीमा भने माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले बताए ।

लुम्बिनी प्रदेशमा ८० प्रदेश सभा सदस्य छन् । यसमध्ये सूर्यचिन्हबाट चुनाव लडेका अजय शाहीले समेत साथ छोडेपछि एमाले ३७ सदस्यमा खुम्चिएको छ । गठबन्धनमा सभामुखबाहेक ४२ सदस्य छन् । तर सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छ ।

प्रकाशित : श्रावण २८, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?