एमालेले भन्यो– भूमि आयोग खारेज मौलिक हकमाथि कुठाराघात - समाचार - कान्तिपुर समाचार

एमालेले भन्यो– भूमि आयोग खारेज मौलिक हकमाथि कुठाराघात 

निर्णय सच्याउन माग
कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ती जारी गर्दै सरकारको आयोग खारेज गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

एमालेले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई प्रत्याभूत गर्न तथा संविधानले सुनिश्चित गरेका खाद्यसम्बन्धी हक (धारा ३६), आवासको हक (धारा ३७), दलितको हक (धारा ४०), सामाजिक न्यायको हक (धारा ४२) लगायत राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुको कार्यान्वयन गर्न भूमिसम्बन्धी ऐन (आठौं संशोधन) को व्यवस्था अनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरिएको उल्लेख गरेको छ । ‘३१९ भन्दा बढी पालिकाहरुमा लगत संकलन पूरा भएर वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको छ’ एमालेले भनेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगले करिब १४ महिनाको अवधिमा मुलुकका ७४७ पालिकाहरुसाग सम्झौता गरेको थियो । यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरू तथा ९,२२,८०१ अव्यवस्थित बसोबासीहरूले विवरण फारम भरिसकेका छन् ।

‘युगान्तकारी राजनीतिक परिवर्तनको लाभ आर्थिक र सामाजिक रुपले विपन्न वर्गले पाउनसकेमा मात्रै परिवर्तनप्रति उनीहरूको अपनत्व विकास हुन सक्छ र त्यसले मात्रै परिवर्तनले सार्थकता पाउन सक्छ’ एमालेले भनेको छ,‘सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पुर्‍याएको छ । वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन र यसले जनताको हित गर्दैन भन्ने कुरालाई यस निर्णयले पुष्टि गरेको छ ।’

एमालेले आयोग खारेज गर्ने निर्णय सच्याउन माग गरेको छ ।

‘एमाले जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको यस निर्णयको निन्दा गर्दछ र यसलाई अविलम्ब सच्याउन माग गर्दछ’ विज्ञप्तीमा छ,‘भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरूका हक र हितप्रति हाम्रो पार्टी सधैभरि सजग र संवेदनशील रहेको छ । उहााहरूका जायज माग र आवाजप्रति पार्टीको हमेशा ऐक्यबद्धता तथा साथ रहने कुरा पनि स्पष्ट पार्न चाहन्छौं ।’

प्रकाशित : श्रावण २०, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्

वडाध्यक्षद्वारा सेवाग्राहीलाई डोरीले बाँधेर निर्घात कुटपिट

३ घन्टासम्म बन्धक
भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीले डोरीले बाँधेर एक युवालाई कुटपिट गरेका छन् । वडाअध्यक्ष नेपालीले मजकोटका १८ वर्षीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका हुन् ।

दाजु रमेश दमाईका छोराछोरीको पोषण भत्ता बुझ्‍न गएका सर्पेले वडा कार्यालय मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले उनलाई बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

पोषण भत्ता माग्दा वडा सचिवले बालबालिका लिएर आएपछि मात्र दिने भनेपछि सर्पे र वडासचिवबीच विवाद भएको थियो । सोही विवादको निहुँमा वडाध्यक्ष नेपालीले सर्पेलाई स्थानीय गब्बले तिरुवाको घरको दलानमा डोरीले बाँधेर निर्घात कुटपिट गरी ३ घण्टासम्म बन्दक बनाएका थिए ।

पोषण भत्ता पाउन ढिलाइ भएपछि वडा सचिवसँग वादविवाद गरिरहेको अवस्थामा वडाअध्यक्षले सर्पेलाई लतार्दै वडा कार्यालय नजिकै रहेको गब्बले घरमा लिई डोरीले बाँधेर कुटपिट गरी बन्दक बनाएको स्थानीय जय नाथले बताए । वडा अध्यक्षले सर्पेलाई गत साउन १५ गते बाँधेर कुटपिट गरेका हुन् । वडाध्यक्ष नेपालीले सर्पेलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वत्र विरोध भएको छ ।

वडाअध्यक्ष नेपालीद्वारा डोरीले बाँधेर बन्दक बनाइएका सर्पेलाई ३/४ घण्टापछि इलाका प्रहरी कार्यालय पञ्चालाको प्रहरी टोलीले उद्धार गरेको नाथले बताए । सर्पेलाई बाँधेर कुटपिट गरेपछि वडाअध्यक्ष नेपालीले वडा कार्यालयमा असुरक्षा भयो भन्दै प्रहरीलाई खबर गरेको उनले बताए ।

सरकारी सेवा पाउन वडा कार्यालयमा पुगेका सेवाग्राहीलाई वडाअध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरी मानिसलाई बाँधेर कुटपिट गर्नु गलत भएको पीडितका बाबु रंगे नेपालीले बताए । ‘जनप्रतिनिधिले बाँधेर कुटपिट गर्ने तथा बन्धक बनाउने उल्टै पीडितलाई आगामी दिन गल्ती गर्ने छैन भनी प्रहरीमा कागज गराउनु जस्तो अपराध अरु के हुन सक्छ,’ नेपालीले भने । विकास र समृद्धिका आशामा भोट हालेर निर्विचित बनाएका जनप्रतिनिधिबाटै कुटाइ खानु परेको उनले बताए । छोरालाई बाँधेर कुटपिट नगर्न बारम्बार आग्रह गर्दा पनि वडाअध्यक्ष नेपालीले नमानेर लगातार कुटपिट गरेको उनले बताए ।

अध्यक्ष नेपालीले कुटपिटको विरुद्धमा पीडितलाई प्रहरी समक्ष पुग्न नदिई दबाब दिँदै आएका छन् । मदिरा सेवन गरेर वडा कार्यालयमा जथाभावी बोल्नुको साथै होहल्ला गरेपछि सर्पेलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ मात्र गरेको वडा अध्यक्ष नेपालीले बताए । अध्यक्ष नेपाली २०७४ मा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : श्रावण २०, २०७८ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×