नेम्वाङलाई धारा ७६ (५) किन राख्नुभयो भनेर सोध्नेवाला थिएँ, हिँडिसक्नुभएछ : प्रधानमन्त्री देउवा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
संसद् बैठक

नेम्वाङलाई धारा ७६ (५) किन राख्नुभयो भनेर सोध्नेवाला थिएँ, हिँडिसक्नुभएछ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधानको धारा ७६ (५) किन राखेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङलाई सोध्न खोजेको बताएका छन् । आफूले त्यो कुरा सोध्न खोजेको तर नेम्वाङ भने जवाफ नै नसुनी प्रतिनिधिसभा बैठकबाट बाहिरिएको भन्दै देउवाले असन्तुष्टि जनाए । 

तस्बिर : अंगद ढकाल

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची थियो । यस्ता बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासहित सबै राजनीतिक दलका नेताहरू उपस्थित हुने परम्परा छ । तर, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने उपस्थित भएनन् ।

प्रमुख प्रतिपक्षी दलको तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई बधाई तथा शुभकामना दिए । उनले राजनीतिक दलहरूले नयाँ संस्कृति निर्माण गर्नुपर्ने बताएका थिए । तर, उनी आफै भने प्रधानमन्त्रीमाथि आफूले उठाएका प्रश्नको जवाफ नसुनी प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए ।

राजनीतिक दलका नेताहरूले दिएको बधाई तथा शुभकामनाप्रति धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले नेम्वाङप्रति व्यंग गरे । 'यहाँ विपक्षी दलका नेता हुनुहुन्न । उपनेता, पूर्वसभामुख पनि आफूले बोलेर संस्कृतिका कुरा गरेर जवाफ नसुनीकन हिँड्नुभयो,' उनले भने, 'यो संविधानमा ७६ ( ५) किन लेख्नुभयो ? भनेर सोध्नेवाला थिए ।'

नेम्वाङले संविधान निर्माण भएपछि सार्वजनिक रूपमा राखेका धारणा स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने, 'उहाँले अब कहिले पनि यो संविधान भत्किने छैन, संसद् विघटन हुने छैन भनेको झल्झली सम्झन्छु ।'

जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि सांसदले बहुमत पुर्‍याउन सक्नुहुन्छ भने दाबी गर्न आह्वान गरेको र सोहीअनुसर आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको देउवाले बताए । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेर संसद्‌मा विश्वासको मत लिन पठाउनुपर्नेमा त्यसो नगरेको देउवाले बताए । त्यसो नगरे सांसदहरूको सनाखत गर्न सक्नेमा पनि त्यो नगरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

संविधानको धारा ७६ को उपधारा ५ किन लेखिएको भन्ने पूर्वसभामुख नेम्वाङलाई राम्रोसँग जानकारी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

विश्वासको मत लिने क्रममा कांग्रेसले ह्वीप जारी नगरेको तर काठमाडौं आएर आफ्नो पक्षमा भोट हाल्न अनुरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्तो अनुरोध अन्य दलका सांसदलाई पनि गरिएको बताए ।

कांग्रेसले विश्वासको मत लिने क्रममा ह्वीप जारी गरेको नेम्वाङले आरोप लगाएका थिए ।

प्रधानमन्त्री देउवाले जनतालाई कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता व्यक्त गरेको र त्यो जसरी पनि पूरा गर्ने बताए । उनले भने, 'हामी ऋण लगेर, सापट लिएर भएपनि जति महँगो भएपनि नेपाली जनतालाई खोप पुर्‍याउने छौं ।'

सरकारले देखिने गरी काम गर्ने प्रधानमन्त्री देउवाले भने, 'यो कार्यकालमा देखिने किसिमका काम गर्नेछौं ।'

सम्बन्धित समाचारः

प्रकाशित : श्रावण ८, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

'प्रधानमन्त्रीले पार्टी र संसदीय दलमा छलफल नै नगरी संसद् विघटन गर्नु दलीय प्रणाली र अनुशासन हो ?'

'पूर्वसभामुख नेम्वाङ दुवै संविधानसभाको कार्यकालमा सभामुख हुनुभयो । यो संवधिान बनाउन उहाँको महत्त्वपूर्ण भूमिका छ । जसको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका थियो यसको रक्षा गर्न पनि उहाँको दायित्त्व हो । त्यो कुरा किन बिर्सिन्छौं ?'
कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीबाट निर्वाचित प्रधानमन्त्रीले पार्टी र संसदीय दलमा छलफल नगरी संसद् विघटन गर्नु नै दलीय प्रणाली र अनुशासन हो ? भनेर माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रश्न गरेका छन् । दुई पटक प्रतिनिधिसभा विघटन गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दल, पार्टीका कमिटीमा छलफल नगरिएको गजुरेलले स्मरण गराए । 

तस्बिर : अंगद ढकाल

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने क्रममा शुक्रबार माओवादी सांसद गजुरेलले भने, 'विधि, पद्दतिको, पार्टीको कुरा आउँछ । पहिलो संसद् विघटन हुँदा संसदीय दल, पार्टीमा छलफल भयो ? पार्टीले बनाएको प्रधानमन्त्रीले पार्टी र दलमा छलफल नै नगरी संसद् विघटन गर्नु के दलीय प्रणालीको विशेषता, अनुशासन हो ? त्यही अनुशासनको परिकल्पना गरेको हो ?'

तत्कालीन प्रधानमन्त्री ओलीले मुलुकलाई पुरानै संविधान र व्यवस्थातिर फर्काउन लागेकाले अहिलेको अवस्था आएको पनि गजुरेलको भनाइ थियो । 'नयाँ किसिमको निरंकुशतामा मुलुकलाई पठाउने प्रयास भइरहेको थियो,' उनले भने ।

देउवा सर्वोच्चको परमादेशबाट नभइ जनताले निर्वाचित गरेका सांसदहरूको बहुमतबाट प्रधानमन्त्री भएको गजुरेलको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको व्याख्या मात्रै गरेको भन्दै संविधानको व्याख्या सर्वोच्चको संवैधानिक इजलासले नगर्ने भए त्यसको व्यवस्था संविधानमा किन राखिएको हो ? भनेर उनले प्रश्न गरेका थिए ।

संविधान निर्माणका क्रममा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणा अगाडि सार्दा अन्य दलहरूले नमानेको स्मरण गर्दै गजुरलेलले सम्झौताबाट संविधान बनाउनुपर्ने भएकाले अडानबाट पछि हटेको बताए । पटकपटक संविधानको भावनाविपरीत संसद् विघटनको काम नहोस् भनेर संविधानमा धारा ७६ को उपधारा ५ राखिएको बताए । संसद् बचाउनका लागि त्यो व्यवस्था राखिएको उनले स्मरण गराए ।

संविधानको रक्षा गर्ने जिम्मेवारी निर्माणका क्रममा महत्त्वपूर्ण भूमिका खेल्ने सुवास नेम्वाङको पनि भएको गजुरेलले बताए । 'पूर्वसभामुख नेम्वाङ दुवै संविधानसभाको कार्यकालमा सभामुख हुनुभयो । यो संवधिान बनाउन उहाँको महत्त्वपूर्ण भूमिका छ । जसको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका थियो यसको रक्षा गर्न पनि उहाँको दायित्त्व हो । त्यो कुरा किन बिर्सिन्छौं ?,' उनले भने ।

वर्तमान सरकारले कोरोना संक्रमणविरुद्धको खोप दिने, संघीयताको संविधानको मर्मअनुसार अभ्यास गर्ने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने दायित्त्व पूरा गर्नुपर्ने गजुरेलले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×