एमालेलाई सिंहको प्रश्न : सत्तामा बस्दा विधि नमान्ने, अहिले जनादेश होइन परमादेशबाट भनेर के पाउनुहुन्छ ?

श्रावण ८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तामा रहेका बेला विधि र नियम नमान्ने नेकपा (एमाले) अहिले आएर शेरबहादुर देउवा जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री भएको भनेर के पाउने हो ? भन्ने प्रश्न गरेका छन् । 

प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन बसेको प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सरकारमा हुँदा संविधानमाथि प्रहार भएको सिंहको भनाइ थियो । 

कानुनविद्, कानुनका विद्यार्थी भन्ने र संविधान निर्माण गर्नेहरू नै अहिले पनि सांसद रहेको भन्दै सिंहले संविधानको धारा ७६ को उपधारा ५ किन राखेको भनेर प्रश्न गरेका थिए । 

'संविधान बनाउँदा ७६ (५) राख्ने अनि अहिले संस्कार कल्चर भ्यालुज्‌को कुरा गर्ने ?,' उनको प्रश्न थियो । 

दुई पटक प्रतिनिधिसभा विघटन गरेर एमाले सरकारले शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त मिचेको भन्दै सिंहले भने, 'सत्तामा बस्दा, कार्यपालिकाको नेतृत्व गर्दा अपनाउनुपर्ने विधि र नियम नमान्ने । अहिले जनतादेशबाट होइन, परमादेशबाट भयो भनेर कराएर के पाउनुहुन्छ ?,' उनले भने ।

देउवा संविधानबमोजिम प्रधानमन्त्री बनेको भन्दै सिंहले जनताको आदेश नै त्यही रहेको बताए । एमाले नेतृत्वको सरकारले विधि मिचेको र दलहरूलाई जबर्जस्ती चुनावमा लैजान खोजेको भन्दै अब जनादेश र परमादेश भनेर कसैले महत्त्व नदिने बताए । 'सत्तामा हुँदा संस्कारको ख्याल नगर्ने अहिले विपक्षमा बसेपछि मूल्य र मान्यताको कुरा गरेर त कतिको महत्त्व पाउला ?,' उनले भने । 

जनताको मत पाएको दल विधिअनुरूप नचले के हुन्छ भन्ने उदाहरण देउवा प्रधानमन्त्री नियुक्त हुनु  रहेको सिंहको भनाइ थियो । राष्ट्र संकटमा पर्दाखेरि कांग्रेसले उचित निकास दिएको पनि सिंहले भने । सबैलाई मिलाएर देउवाले लैजाने विश्वास आफूमा रहेको सिंहको भनाइ थियो ।

एमालेप्रति व्यंग गर्दै सिंहले भने, 'ओलीले पानीजहाज पनि चलाइसक्नुभएको छ । चुच्चे रेल पनि ल्याइसक्नुभएको छ । हाइवेमा रनवे पनि ल्याउनुभएकै छ । अब नवनियुक्त प्रधानमन्त्रीलाई काम सजिलै होला भन्ने लागेको छ ।' 

ओली सरकारको गैरजिम्मेवारीपनबाट सिकेर देउवाले संविधान, संविधानको भावना र मर्म, विधिको शासन पालना गरेर आफ्ना कार्य अगाडि बढाउने विश्वास रहेको उनले बताए । 

सम्बन्धित समाचारः

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully