कोरोना कथा : अनि मदनकृष्ण एक्लै रोए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कथा : अनि मदनकृष्ण एक्लै रोए

‘हामी यति शिथिल हुँदै गयौं कि पानी तताएर खान दिने शक्ति कसैमा थिएन । एकले अर्कालाई टुलुटुलु हेर्ने भयौं । लाचार भयौं ।’
जनकराज सापकोटा

काठमाडौँ — मदनकृष्ण श्रेष्ठका लागि यो नयाँ वर्ष उल्लासमय भएन । परिवारका पाँचै जना एकै पटक संक्रमित भए । पार्किन्सनका दीर्घरोगी मदनकृष्ण संक्रमित भएपछि दुई पटक गरेर २२ दिन अस्पताल बसे । घर फर्केको केही दिनमै मुटुमा समस्या देखियो । मुटुका दुई रक्तनलीमा ९० प्रतिशतभन्दा धेरै ‘ब्लकेज’ देखिएपछि उनी फेरि दुई दिन अस्पताल बसे ।

कोरोना संक्रमणमाझ महिना लामो अस्पताल बसाइमा उनले जीवनकै फरक अनुभूति सँगाले । एक मुठी अक्सिजनको खोजीमा तड्पिइरहेका बिरामी र सबैको शत्रु भनिएको कोरोनासँग लड्न छाडेर आ–आफैं लडिरहेका नेताहरूका आवृत्ति उनको अगाडि नाचिरहे ।

परिवारका सबै सदस्य संक्रमित भएपछिका चार दिन त मदनकृष्णले जेनतेन घरमै काटे । ‘हामी यति शिथिल हुँदै गयौं कि पानी तताएर खान दिने शक्ति कसैमा थिएन । एकले अर्कालाई टुलुटुलु हेर्ने भयौं । लाचार भयौं,’ उनी सुनाउँछन् । चौथो दिन अस्पताल भर्ना भएपछि उनले प्राण जोगाउन संघर्ष गरिरहेका बिरामीलाई नियाल्न पाए ।

आठ दिन निजी अस्पतालको जनरल वार्डमा बस्दा उनले जोडसँग खोकिरहेका बिरामीलाई नजिकबाट देखे । उनलाई लाग्थ्यो, ‘खोक्दै गरेका बिरामीको कतै छाती त फुट्दैन ?’ वार्डमा कोही बिरामी अक्सिजनका भरमा बाँचिरहेका थिए । कोही गुजुल्टो परेर बसिरहेका थिए । मदनकृष्ण जेनतेन बेडबाट झरेर हिँड्न सक्थे । उनी बेडमा पुगेर मुसुक्क हाँसेर नमस्ते गर्थे तर उनी हाँसेको अरूले देखुन् कसरी, मास्कले मुख छोपिएको हुन्थ्यो । वार्डमा एक जना कोरियन संक्रमित पनि थिए । कोरियामा पटक–पटक कार्यक्रम गर्न जाँदा मदनकृष्णले एकाध कोरियन शब्द सिकेका थिए । उनी ‘आनिहास्योअ’ अर्थात् नमस्ते भन्थे ।

आठ दिनमा डिस्चार्ज भएर घर फर्किने बेला उनलाई ह्वीलचियरमा बाहिर निकालिँदै थियो । उनले सबै बिरामीको अनुहारमा खुसी फर्कियोस् भनेर केही महिनाअघि आफूले गाएको ‘फूलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको...’ गीत गाए । घर फर्केको अर्को दिनमै उनी फेरि शिथिल भए । त्यतिबेला उनलाई अब तङ्ग्रिन सक्दिनँ कि भन्नेजस्तो लाग्यो । त्यो क्षण सम्झिँदै उनी भन्छन्, ‘यति शिथिल भएँ कि तङ्ग्रिन नसकेरै मर्छु जस्तो लाग्यो । अनि फेरि अस्पताल पुगिहालें ।’

संक्रमित बस्ने अस्पतालको क्याबिन बिरानो थियो । न कोही भेट्न आउँथे न कतै टहलिन सम्भव थियो । उनले सुनाए, ‘आर्मी क्याम्पमा छिर्न सजिलो होला तर त्यहाँ छिर्न सकिँदैनथ्यो । ढोका खोले रोग सर्ने डरले कोही आउँदैनथे ।’ क्याबिनको एकान्तबासमा उनको मन आफैंसँग डरायो । एक दिन उनले पाइलट विजय लामाको भिडियो हेरे । खाने तेलको विज्ञापनमा ‘मुटु चाहिन्छ मुटु’ भन्दै छातीमा दह्रो हातले हिर्काउने पाइलट लामा पनि कोरोना संक्रमित भएपछिको अनुभव साट्दै रुन खोजेको देखेर उनको मन आत्तियो ।

त्यस्तो हट्टाकट्टा मान्छेलाई त रोगले यसरी गालेको छ । मलाई के बाँकी राख्ला भन्नेजस्तो भाव उनको मनमा आयो । अस्पताल बस्दा नै उनले कोरोना संक्रमणकै कारण नातागोता बितेको थाहा पाए । उनले तिनीहरूका परिवारलाई फोन गरे । त्यो क्षण सम्झिँदै उनले भने, ‘उनीहरू रोए, म पनि रोएँ । कोरोना कति डरलाग्दो रै’छ भन्ने महसुस भयो ।’

एक दिन उनलाई आफू साह्रै कमजोर भएको महसुस भयो । अनि उनी एक्लै रोए । क्याबिनको एकान्तमा उनको आँसु एक जना स्टाफ नर्सले देखिन् । नजिकै आएर सोधिन्, ‘के भयो दाइ तपाईंलाई ?’ गत वर्षमात्रै क्यान्सर रोगका कारण बितेकी पत्नी यशोदाको तिथि परेकाले उनैलाई सम्झेर मदनकृष्ण रोएका थिए । उनको रुवाइमा कोरोनाले कमजोर बनाएको मन र पत्नीको याद एकैसाथ मिसिएको थियो । उनले भने, ‘मरिन्छ कि भन्ने डर र भोलिपल्ट पर्ने श्रीमतीको तिथि दुवै रुवाउन पर्याप्त थिए ।’

सधैं अरूलाई हँसाइराख्ने वरिष्ठ हास्य कलाकारको आँखामा आँसु देखेर नर्सले भनिन्, ‘दाइ चिन्ता नलिनु । इमोसनल नहुनु । म भोलि भाउजूको नाममा बत्ती बाल्छु र कलशमा जल ल्याइदिन्छु ।’ नभन्दै भोलिपल्ट ती नर्सले दुईवटा कलशमा फूल राखेर ल्याइदिइन् । मदनकृष्ण झनै भावुक भए ।

अस्पताल बसाइमा उनले सामाजिक सञ्जाल हेरेर, नजिकका प्रियजनसँग गफ गरेर समय कटाए । एक दिन उनले सामाजिक सञ्जालबाटै थाहा पाए, पूर्वराजारानीलाई पनि कोरोना संक्रमण भयो । मदनकृष्णले फेसबुकमा लेखे, ‘गेट वेल सुन राजा । रेस्पेक्ट यु । लभ यु ।’ संक्रमित पूर्वराजारानीलाई पनि आफूलाई जस्तै गाह्रो भयो होला भन्ने उनलाई लाग्यो ।

एकैछिनमा फेसबुकमा सयौं कमेन्ट आए । कैयन् कमेन्ट सकारात्मक थिए । कैयन् भने तुच्छ । केहीले त उनलाई लेखे, ‘तिमी राजावादी भयौ ।’ केहीले अझै अगाडि बढेर लेखे, ‘युरोपेली युनियनको कति पैसा खायौ हँ ?’ फेसबुकमा आएका प्रतिक्रिया फुर्सदमा पढेपछि मदनकृष्णले पञ्चायतका पालादेखि आफूहरूले लोकतन्त्रको पक्षमा गरेका काम सम्झिए । अनि उनले सोचाइ तन्काउँदै गएर आफैंसँग सोधे, ‘त्यो मान्छेले फेसबुकमा तुच्छ कमेन्ट किन लेख्यो ? त्यो मान्छे किन त्यस्तो भयो ? किन त्यस्तो विष पोख्यो ? कसको संगत पर्‍यो उसलाई ? उसको गुरु को हो ? उसको गुरुको गुरु को हो ?’

उनले आफैंलाई उत्तर दिए– राजनीतिले नै मान्छेलाई विषाक्त बनायो । राजनीतिकै कारण मान्छेको मनमा विषादी भरिएको छ । उनले आफैंलाई दिएको उत्तरका पछाडि केही कारण थिए । मदनकृष्णले सुनाए, ‘मान्छेहरू सडकमा आएर खानुपर्ने भएको छ । बेरोजगारी बढेको छ । बोर्डरमा उताबाट यता मान्छे आउन पाएका छैनन् । भयावह अवस्था छ तर समाचारमा नेताहरू सत्ताको चलखेलमा मग्न भएको देखिन्छ ।’

अक्सिजनका निम्ति हारगुहार गरिरहेका संक्रमितका आफन्त र बेड नपाएर छटपटिरहेका बिरामीका खबर पढेर उनी भित्रैदेखि उद्वेलित भए । उनले सुनाए, ‘आफूलाई बेडमा सुत्दा त गाह्रो भएको थियो, कैयौं बिरामी भुइँमै पल्टिरहेका थिए । खबर सुन्दा, पढ्दा मन त्यसै भावुक भइरह्यो ।’

उनको मनमा एउटै प्रश्न खेलिरह्यो– ‘देश किन यस्तो भयो ? कसरी बिग्रियो ?’ उनले भने, ‘त्यस्तो अवस्थामा पनि नेताहरू लुछाचुँडीमा ध्यान दिइरहेका थिए । सबैको साझा शत्रु भनेको त कोरोना भाइरस हो नि तर साझा शत्रुलाई बेवास्ता गरेर आफू–आफू झगडा गरिरहे ।’

दोस्रो पटक १४ दिन अस्पताल बसेर फर्केपछि उनलाई छातीमा असह्य पीडा सुरु भयो । उनले सुनाए, ‘पार्किन्सनको दीर्घरोग छँदै थियो, कोरोना संक्रमणसँग पनि जुधेकै थिएँ । फेरि मुटुका दुई रक्तनलीमध्ये एउटामा ९९ र अर्कोमा ९८ प्रतिशत ब्लकेज देखिएछ ।’ उनी हतारहतार अस्पताल भर्ना भए । दुई दिनपछि रक्तनली खुलाउन ‘स्टेन्ट’ राखेपछि उनी डिस्चार्ज भए । उनले सुनाए, ‘तीनवटै रोग मिलेर मलाई अट्याक गरे । तीनवटै कुरुक्षेत्र एकैचोटि जित्नु भनेको त नेपोलियनलाई पनि गाह्रो हुन्छ । धन्न मैले जितें ।’ यति भनेर उनले लामो सास ताने, ‘थ्याङ्स गड ।’

कोरोनाको दोस्रो लहरमा झन्डै तीन महिना उनी घरभित्रै रहे । पछिल्लो एक सातायता मात्रै निस्कन थालेका छन् । कोरोना नहुँदो हो त उनले दोस्रो लहरअघि गाएका दुई गीत बजारमा आइसकेका हुने थिए । प्रोस्टेट, पार्किन्सन, कब्जियत र मुटु रोगलाई जित्न दैनिक २८ थरी औषधि खाइरहेका मदनकृष्ण फेरि नयाँ गीत गाउने अन्तिम तयारीमा जुटेका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

१० अर्ब सञ्चित घाटा र ४७ अर्ब ऋण बोकेर उड्दै राष्ट्रिय ध्वजावाहक

निगमलाई निजीकरण गरेर माफियाको जिम्मा लगाउन खोजेको भन्दै कर्मचारी आन्दोलित, महाप्रबन्धक १० दिनदेखि कार्यालयसमेत जान सकेनन्
सरकारको कम्तीमा ५१ प्रतिशत स्वामित्व निश्चित गर्ने व्यवस्थापनको भनाइ तर निजी क्षेत्रलाई पनि सहभागी नबनाए निगम चल्न नसक्ने दाबी
सुरज कुँवर

काठमाडौँ — आर्थिक रूपमा जर्जर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनरुत्थान कसरी गर्ने ? संस्थानकै रूपमा सुधार गरेर अथवा कम्पनीका रूपमा पुनःसंरचना गरेर ? व्यवस्थापन र कर्मचारीबीच मतभेदले अहिले निगम झन् ठूलो समस्यामा छ । निजीकरण गरेर निगम मास्न खोजेको भन्दै आन्दोलित कर्मचारीको अवरोधले महाप्रबन्धक १० दिनदेखि कार्यालयसमेत जान सकेका छैनन् ।

फाइल तस्बिर

१० अर्ब सञ्चित घाटामा गएको निगम ४७ अर्ब ऋण बोकेर उडिरहेको छ । कोभिड संक्रमणले थला परेको निगमले ६ महिनायता साँवाब्याजको किस्ता पनि तिर्न सकेको छैन । महाप्रबन्धक डिमप्रसाद पौडेल भन्छन्, ‘पुरानो ऋणसँगै चारवटा एयरबस खरिद गर्दा लिइएको ऋण ४७ अर्ब पुगेको छ, गत पुसयता किस्ता भुक्तानी पनि रोकिएको छ ।’ उता नागरिक लगानी कोषका एक अधिकारीका अनुसार, निगमले साँवाब्याज भुक्तानी नगर्दा लगानी कोष र कर्मचारी सञ्चय कोषको आर्थिक क्रियाकलापमा पनि असर परेको छ ।

२०१५ मा स्थापना भएको निगमले ५० को दशकसम्म १४ वटा विमानबाट करिब ३५ आन्तरिक गन्तव्यमा सेवा दिइरहेको थियो । अहिले आन्तरिक प्रतिस्पर्धामा निगम पुछारमा छ । आन्तरिकतर्फ निगमले दुई ट्वीनअटरबाट बढीमा चारवटासम्म उडान गरिरहेको छ ।

यसले काठमाडौंबाट ताप्लेजुङ, फाप्लु, भोजपुर, थामखर्क, खानीडाँडा र दाङ उडान गर्दै आएको छ भने नेपालगन्जबाट सिमकोट, बाजुरा, रुकुम, रारा, जुम्लामा उडान गर्दै आएको छ । तर कुनै पनि रुटमा नियमित उडान छैन ।

अन्तर्राष्ट्रिय गन्तव्यमा ९ रुटमा अनुमति पाएको निगमले अहिले दोहा, मलेसिया, दुबई र दिल्ली गरी चार गन्तव्यमा मात्रै उडान गर्दै आएको छ । जापानले ६० भन्दा बढी यात्रु ल्याउन नपाउने कोटा तोकेकाले त्यहाँ नियमित उडान भएको छैन । बैंग्लोर र मुम्बईको उडान भारतले नै रोकेको छ । हङकङमा गोल्डेन भिसावाहकबाहेकका नेपालीलाई रोक लगाइएको छ र बैंककमा पर्यटन नचलेकाले उडान छैन ।

६ दशक पुरानो निगमले अहिले ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने अनुमति पाएकामा ७ वर्षअघि स्थापना भएकोहिमालय भने १० वटा गन्तव्यमा पुगिसकेको छ । निगम र हिमालयसँग चार/चार जहाज छन् । निगम सुधार्न सरकारले विभिन्न आयोग पनि गठन गर्दै आएको छ ।

२०५८ मा बलबहादुर केसी पर्यटनमन्त्री भएयता केपी ओलीको सरकारसम्म २० वर्षमा ७ वटा आयोग, समिति र कार्यदलले निगमलाई यथास्थितिबाट सञ्चालन गर्न नसकिने कारण देखाउँदै सुधार्न सुझाव दिइसकेका छन् । यो अवधिमा पर्यटन मन्त्रालयमा २४ मन्त्री फेरिए, अब २५ औं मन्त्रीको प्रतीक्षा भइरहेको छ ।

२०५८ सालमा पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमको संयोजकत्वमा बनेको उच्चस्तरीय सुझाव कार्यदलदेखि २०५९ मा तत्कालीन योजना आयोगका सदस्य डा. शंकरप्रसाद शर्माको संयोजकत्वमा बनेको उच्चस्तरीय कार्ययोजना समितिको सिफारिसका आधारमा निगमलाई कम्पनी संरचनामा लग्न थालिएको निगम व्यवस्थापनको भनाइ छ ।

२०७६ साउनमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेका योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई ‘वाउ नेपाल एयरलायन्स !’ बनाउँछु भन्दै पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए ।

घिमिरे नेतृत्वको कार्यदलले दुई वर्षअघि नै प्रतिवेदन दिँदै पुराना ६ अध्ययनको निष्कर्ष समेट्दै निगमलाई अहिलेकै अवस्थामा चलाउन नसकिने ठहर गरेको छ । ‘सबै प्रतिवेदनका निष्कर्ष तथा सुझावमा मुख्यतया निगमको संस्थागत र व्यवस्थापकीय सुधार, कम्पनीमा परिवर्तन गर्ने, विदेशी लगानी भित्र्याउने, स्वदेशी उद्यमी र वित्तीय संस्थाको लगानी समावेश गर्ने, जहाज थप्ने, व्यावसायिक क्षमता अभिवृद्धि गर्नेजस्ता विषय प्राथमिकताका साथ उठाइएको पाइयो,’ उक्त प्रतिवेदनले २०५८ यता गठन भएका ६ वटा कार्यदलका प्रतिवेदनको सारलाई संक्षेपीकरण गर्दै लेखेको छ ।

विसं २०१९ मा ऐन बनाएर सञ्चालन गरिएको संस्थालाई अहिलेको बढ्दो प्रतिस्पर्धात्मक, व्यावसायिक वातावरणमा तीन दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग प्रतिस्पर्धी बनाउन २ सय अर्ब अधिकृत पुँजीसहितको कम्पनी बनाउनु प्रतिवेदनको सुझाव छ । निगम वित्तीय हिसाबले अत्यन्तै जोखिमपूर्ण मोडमा पुगिसकेको तर सरकारी सहयोगले मात्रै निगम साख जोगिएको अध्ययनको ठहर छ ।

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न खोजेको भन्दै कार्यालय परिसरमा प्रदर्शनमा उत्रिएका ट्रेड युनियन आबद्ध कर्मचारी । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

सरकारले कम्तीमा ५१ प्रतिशत सेयर राखेर सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत कम्पनी संरचनामा जानुपर्ने कार्यदलको सिफारिस छ । कार्यदलमा सदस्य रहेका डिमप्रसाद पौडेललाई तत्कालीन मन्त्री भट्टराईले पहिले सञ्चालक समितिको सदस्य र पछि महाप्रबन्धक नियुक्त गरेका हुन् । उनै महाप्रबन्धक पौडेलले निगमलाई कम्पनीमा बदल्ने कार्ययोजनासहित ‘प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावली’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएका छन् । जसको विरोधमा कर्मचारी आन्दोलित छन् ।

बजेट भाषण हुँदै आएको कम्पनी बनाउने प्रस्ताव निगम सुधारको विषय बजेटमा भने जहिले पनि उच्च प्राथमिकतामा पर्दै आएको छ । यस वर्ष पनि नेपाल वायुसेवा निगमको संगठन पुनःसंरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाइने, खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार ल्याउने प्रक्रिया थाल्ने विषय बजेटको बुँदा नम्बर ४२७ मा थियो । जेठ १५ मा बजेट आएलगत्तै जेठ २८ मा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना र रामशरण पुडासैनी, पर्यटन सचिव यादवप्रसाद कोइराला, निगमका महाप्रबन्धक पौडेल, निर्देशकहरू जनकराज कालाखेती, अनिशा खड्का, दीपु जुहार्चनसहितको बैठकले तीनवटा विषयमा निर्णय गरेको थियो ।

अर्थ सचिव ढुंगानाले अध्यक्षता गरेको उक्त बैठकले निगमको डीडीए (ड्यु डेलिजेन्स अडिट) गर्ने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँगको चालु वर्षसम्मको ब्याज दायित्व यकिन गर्ने र असार १५ सम्म निगमको पुनःसंरचना गर्न लिमिटेड कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा पेस गर्ने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन गर्न निगम सञ्चालक समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा असार १३ मा बसेको बैठकले कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा बनाउने निर्णय गरेको थियो । यसका लागि निजी क्षेत्रको प्रतिनिधित्व गर्ने तीन जना सदस्यमध्येबाट किशोरकुमार प्रधानको संयोजकत्वमा ईश्वरी पौडेल र फुर गेल्जे शेर्पाले जिम्मेवारी पाएका थिए ।

समितिले निगमका कुनै पनि कर्मचारी तथा निर्देशकहरूसँग छलफल नै नगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार पारेको थियो । निगम अब कम्पनीमा जाने भनेर मस्यौदा मन्त्रालय पुगेपछि कर्मचारी सशंकित भएका छन् । ‘निजीकरण नेपालमा फेल भइसक्यो । १८ वटा संस्थान बन्दै भइसके, त्यसैले निजीकरणमा जानु हुँदैन । अहिले पर्यटन मन्त्रालयमा पठाइएको निगमको संरचना बदल्ने प्रबन्धपत्र र नियमावलीमा शंका गर्ने धेरै ठाउँ छन्,’ एमालेनिकट कर्मचारी संगठनका तर्फबाट ट्रेड युनियनमा वरिष्ठ उपाध्यक्ष रहेका पन्थीले भने, ‘निगमको संरचना नै परिवर्तन गर्ने यति ठूलो विषयमा कर्मचारीसँग सामान्य छलफल भएन ।’

प्रबन्धपत्र मस्यौदा कार्यदलमा रहेका एक सदस्य पनि कर्मचारीको राय नलिनु गल्ती भएको स्विकार्छन् । भन्छन्, ‘हामीले कर्मचारीसँग छलफल गर्नुपर्ने रहेछ, उनीहरूसँग छलफल नगरी मस्यौदा मन्त्रालयमा पठाउनु गल्ती भएकै हो । सायद ट्रेड युनियनलाई समेटेको भए शंका उत्पन्न हुने थिएन ।’ निगमलाई कम्पनीका रूपमा सञ्चालन गर्न प्रबन्धपत्र बनाउने जिम्मा पाएका सञ्चालक समितिका सदस्य ईश्वरी पौडेल र फुर गेल्जे शेर्पाको पृष्ठभूमि यती एयरलाइन्ससँग जोडिएकाले पनि ‘स्वार्थ बाझिने’ कर्मचारीहरूको दाबी छ ।

यी दुवैलाई तत्कालीन मन्त्री भट्टराईले निगमको सञ्चालक समितिमा लगेका हुन् । पौडेल पाथीभरा केबलकारमा यती समूहसँगै लगानीकर्तामध्येका एक हुन् भने शेर्पा केही समयअघि यती समूहकै लगानी भएको अल्टिच्युट हेलिकप्टर कम्पनीमा लगानी साझेदार थिए ।

कार्यदलले १२ पेजको नियमावली र ८ पेजको प्रबन्धपत्र बनाएको छ । प्रस्तावित प्रबन्धपत्रको ‘पुँजी–संरचना’ मा दुई विकल्प राखिएका छन् । पहिलो विकल्पअनुसार कम्पनीको स्वामित्व संस्थापक तथा संस्थापक समूहको सेयर खरिद गर्ने सेयर धनीसँग हुनेछ । तर निगम कम्पनी बनेपछि संस्थापक को हो ? कर्मचारीको प्रश्न छ । ‘संस्थापक नभनी सिधै ‘नेपाल सरकार’ लेखिनुपर्छ, सरकारबाहेक अरू कोही संस्थापक हुने बाटो खुला गर्न सकिँदैन’ ट्रेड युनियनहरूको प्रस्ट अडान छ ।

दोस्रो विकल्पमा संस्थापकलाई ५१ प्रतिशत सेयर राख्ने, ख्याति प्राप्त विदेशी वायुसेवालाई ३० प्रतिशत, नेपाली वायुसेवा कम्पनीहरू, पर्यटन व्यवसायी एवं सर्वसाधारणलाई १४ प्रतिशत र कम्पनीमा कार्यरत तथा पूर्वकर्मचारीलाई ५ प्रतिशत स्वामित्व दिने प्रस्ताव छ । यसमा पनि संस्थापक भनेको सरकार हो भनेर प्रस्ट भन्नुपर्ने ट्रेड युनियनहरूको भनाइ छ । कांग्रेसनिकट ट्रेड युनियनका अध्यक्ष मानबहादुर कुँवर भन्छन्, ‘संस्थापकको ठाउँमा ‘नेपाल सरकार’ नलेखिनुले धेरै शंका पैदा गरेको छ ।’ तर, महाप्रबन्धक पौडेल भने निगम निजीकरण गर्न नखोजिएको भन्दै यसलाई सिधा हिसाबले नेपाल टेलिकमको मोडलमा लैजाने मात्र तयारी गरिएको दाबी गर्छन् । ‘राष्ट्रिय ध्वजावाहक निगम अहिलेको जस्तो आर्थिक र व्यवस्थापकीय जर्जरताबाट चल्न सक्दैन, यसरी चलाउनु पनि हुँदैन । तर, कम्तीमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक सेयर रहने सुनिश्चितता गरिनेछ’ उनी भन्छन् ।

सरकारी संस्थानका रूपमा रहँदा सरकारको सहयोगभन्दा धेरै राजनीतिक हस्तक्षेप हुने भएकाले अब सरकार एउटा बहुमत प्राप्त सेयरहोल्डर र संरक्षकका रूपमा मात्र रहनु उपयुक्त हुने उनको भनाइ छ । ‘अब जनताको पैसाले निगम चलाउने प्रयत्न गर्नॅ हुँदैन । निगमको सम्पत्ति तथा दायित्व मान्यता प्राप्त निकायबाट पुनः मूल्यांकन गराई नेपाल सरकारको पुँजीका रूपमा नयाँ बन्ने कम्पनीमा लगानी गरिनुपर्छ,’ पौडेल भन्छन् ।

पूर्वसचिव शंकर अधिकारीका अनुसार, २०७४ मा लुफथान्साले ५ वर्षको ५० करोड रुपैयाँ शुल्क माग गर्दै निगमको व्यवस्थापन सुधार गर्ने प्रस्ताव गरेको थियो । त्यो बेला पर्यटनमन्त्री जितेन्द्रनारायण देव थिए भने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । प्रस्तावलाई अर्थले स्वीकृत गर्दै पर्यटन मन्त्रालयमा पठाएको थियो । तर, पर्यटन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा लगेन । ‘लगत्तै चुनाव भएकाले त्यसबेला यो विषय प्राथमिकतामा परेन । चुनावपछिको बलियो सरकारले पनि यो विषयलाई ध्यान दिएन’ पर्यटन मन्त्रालयसमेत सम्हालेका अधिकारीले भने ।

पूर्वसचिव अधिकारी निगम सुधार्न पहिलो विकल्पका रूपमा अहिले पनि निगमको व्यवस्थापन सुधार्न लुफथान्सालाई जिम्मा दिँदा हुने बताउँछन् । ‘अहिलेकै अवस्थामा निगमलाई अघि बढ्न धेरै चुनौती छ,’ उनी भन्छन्, ‘उसले मान्दैन भने उपयुक्त योजनासहित निगमलाई कम्पनीमा बदल्दा केही फरक पर्दैन ।’ ‘निगमको संरचना बदल्ने प्रबन्धपत्र र नियमावली’ को मस्यौदाविरुद्ध तीन ट्रेड युनियन आन्दोलनमा छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रसम्बद्ध युनियन मिलेर निगम मुख्यालयमा तालाबन्दी, धर्ना तथा विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरूले महाप्रबन्धक पौडेललाई प्रवेशसमेत निषेध गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निगम यती समूहलाई जिम्मा लगाउन खोजेको भन्दै आन्दोलित कर्मचारी सरकार परिवर्तन भएपछि पनि शान्त भएका छैनन् । निगमको ६३ औं स्थापना दिवसको भोलिपल्ट अर्थात् असार १८ मा सुरु भएको आन्दोलन अहिले पनि जारी छ ।

‘स्वरूप परिवर्तन होला तर हामी आन्दोलन रोक्दैनौं,’ निगमको आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थी भन्छन्, ‘हाम्रा माग दुइटा मात्रै हुन् । पहिलो, निगमको संरचना बदल्ने प्रबन्धपत्र र नियमावलीको प्रस्ताव फिर्ता हुनुपर्‍यो र दोस्रो महाप्रबन्धकले राजीनामा दिनुपर्‍यो ।’

आन्दोलन सुरु भएको सातापछि महाप्रबन्धक पौडेलले ट्रेड युनियन नेताहरूसँग छलफल गर्ने पहिलो प्रयास गरेका थिए । तर, उनलाई कार्यकक्षबाट बाहिर निकाल्न प्रहरी नै परिचालित गर्नुपर्‍यो । प्रहरी घेरामा भर्‍याङबाट ओर्लिने क्रममा आन्दोलनकारीले नाराबाजी गर्दै सेनिटाइजरको रित्तो डब्बाले हिर्काएपछि उनले छलेका थिए । त्यसयता उनले कामचलाउ खटनपटन कार्यालयबाहिरैबाट गर्दै आएका छन् ।

आन्दोलनको दसौं दिन महाप्रबन्धकसहित १५ जना निर्देशकलाई मन्त्रालयमा बोलाएर सहसचिव बुद्धिसागर लामिछानेले छलफल गरेका थिए । तर, समाधान निस्किएन । युनियनकर्मीले पनि अब पर्यटनमन्त्रीस्तरभन्दा तल्लो तहसँग वार्ता नगर्ने अडान राखेका छन् । पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाकै मातहतमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विवाद समाधान गर्न पहल गरेको छैन ।

प्रकाशित : श्रावण ५, २०७८ ०६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×