२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

एमालेका २२ सांसदहरुको कदम पार्टीका लागि लज्जास्पद : ओली

‘माओवादी अपराधकर्मबाट आएको पार्टी हो तर अहिले शिथिल छ’
‘एमाले चिचिलो कांक्रो जस्तो अरुले औंला ठड्याएर देखाउँदा झरेर जाने चिज होइन’
‘सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला सुरु हुन सक्छ’

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदको कदम लज्जास्पद भएको बताएका छन् । सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको १०औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा गुटबन्दीको नेतृत्व माधव नेपालले गरेको भन्दै उनको आलोचना गरे ।

एमालेका २२ सांसदहरुको कदम पार्टीका लागि लज्जास्पद : ओली

‘हिजो संसद्‌मा शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका सांसदहरुको कदम हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो,’ ओलीले भने ।

बैठकमा ओलीले गठबन्धनबाट बनेको सरकारले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला गर्न सक्ने भन्दै त्यसको सशक्त प्रतिवाद हुनुपर्ने बताए । ‘हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं,’ बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महेश बस्‍नेतले भने, ‘त्यसको सशक्त प्रतिवाद हुनु पर्दछ । कांग्रेस विगत देखि नै आफैं आक्रमण गर्ने, आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो । माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो ।’ तर, जनताबाट अपार समर्थन पाएको पार्टी भएको हुँदा कसैले औंला उठाउन नसक्ने ओलीको भनाइ छ । ‘सबैलाइ याद होस्, एमाले चिचिलो काँक्रो जस्तो अरुले औंला ठड्याएर देखाउँदा झरेर जाने चिज होइन,’ उनले भने, ‘जनताको अपार समर्थन भएको पार्टी हो ।’

बैठकले फ्लोर क्रस गने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । अर्को बैठक मंगलबार ३ बजे बस्ने भएको छ । बैठकले विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन पनि गरेको छ । बैठकमा नेपाल पक्ष भने सहभागी थिएन ।

प्रकाशित : श्रावण ४, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?