कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौँ — नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् ।

पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरुको प्रतिबद्धता

शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

“पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकताबद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सबल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढने निष्कर्षमा पुगेका छौं । हामी सोही रुपमा अघि बढछौं ।”

पार्टीलाई एकताबद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताए । विघटित पार्टी एकता कार्यदलका सदस्य समेत रहेका उनले भने, “पार्टीका सबै नेता, कार्यकर्ताहरुको यति लामो योगदानबाट निर्मित पार्टीलाई एकताबद्ध बनाउन हामीले हाम्रा प्रयत्नहरुलाई केन्द्रित गर्नु स्वभाविकै हो । हामीले आफ्ना आफ्ना ठाउँबाट पार्टीलाई एकजुट बनाउनका लागि हाम्रा प्रयत्नहरुलाई जारी राख्नु पर्दछ । पार्टी कार्यकर्तामा देखा परेको, अन्योलता र चिन्तालाई दूर गर्नका लागि फेरी पनि यो पार्टीलाई कुनै पनि सर्तमा जोगाउँछौं, एकताबद्ध पार्छौं भन्ने सन्देशका लागि पनि अनौपचारिक रुपमा भेटघाट गर्ने काम स्वभाविक छ ।”

शुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी भएका थिए भने भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भिम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।

प्रकाशित : श्रावण २, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?