काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् ।
प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन् ।
केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा. अशेष ढुंगेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गरेका हुन् । उनीसँगै नेपालस्थित अमेरिकाका राजदूत र्यान्डी बेरी पनि थिए ।
प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा. जागेश्वर गौतमले लगायतले अस्पतालका बारेमा जानकारी गराएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले सोमबार एक हजार जनालाई खोप प्रदान गर्ने बताए ।
अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा. झलक शर्मा गौतमले सोमबारदेखि काठमाडौं उपत्यका, काभ्रे र गण्डकी प्रदेशका केही जिल्लामा उक्त खोप लगाउन थालिएको जानकारी दिए ।
