देउवासँग छलफल गरेर माओवादीले मन्त्रीको टुंगो लगाउने

असार २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति तथा भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रीको टुंगो लगाउने भएको छ ।

मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा नयाँ सरकारमा कसलाई पठाउने भन्नेबारे छलफल भएको थियो । बैठकका बारेमा जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले देउवासँग छलफल गरेर मात्रै मन्त्रीको टुंगो लगाउने कुरा भएको बताए ।

नेता श्रेष्ठले सर्वोच्च अदालतबाट आएको फैसला कार्यान्वयन गर्न सबै राजनीतिक पार्टी र शक्तिलाई राष्ट्रिय सहमतिमा लगेर एकताबद्ध गर्ने बताए । 'भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालन र स्वरूपबारे छलफल गरी मन्त्रिपरिषद् गठन हुनेछ,' नेता श्रेष्ठले भने । अध्यक्ष दाहालले देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयहरुमा प्रारम्भिक छलफल गर्ने र सरकारको  स्वरुपकोबारे ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई पहल गर्ने श्रेष्ठले बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल स्थायी कमिटीको बैठक सकेर देउवासँग छलफल बूढानीलकण्ठ पुगेका छन् । 

सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । 

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully