विपद्‌मा घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने तयारी

असार २०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् । 

उनले भने, 'यस वर्षको मनसुनजन्य विपद्‌बाट २०७८ असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।'

यस वर्षको मनसुन सुरु भएयता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाका लागि सरोकारवालाहरुसँग समन्वय गरी आवश्यक निर्देशन गरेको पनि बताए । यसवर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए । उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता बापत प्रति परिवार ५० हजार रुपैयाँका दरले  १९ करोड ९७ लाख  रुपैयाँ अनुदान प्रदान गरी पुनर्निर्माणको काम सुरु गरिएको पनि जानकारी दिए । 

गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ताबापत प्रति परिवार ५० हजार रुपैयाँका दरले  १९ करोड ९७ लाख अनुदान प्रदान गरी पुनर्निर्माणको काम सुरु गरिएको मन्त्री पौडेलले बताए ।

कान्तिपुर

Link copied successfully