अस्पताल लैजाँदालैजाँदै संक्रमितको मृत्यु

जिल्लामा आईसीयू र भेन्टिलेटर नहुँदा संक्रिमत समस्यामा

असार २०, २०७८

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ५ हुलाक टोलकी ५० वर्षीया मीनाकुमारी खड्काको शनिबार बिहान मृत्यु भयो । कोरोना संक्रमण देखिएपछि असार १६ गते जिल्ला अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएकी उनको अक्सिजनको मात्रा घट्न थालेपछि चिकित्सकले सुविधायुक्त अस्पताल लैजान सल्लाह दिए ।

परिवारले हेलिकप्टरबाट काठमाडौं लैजाने प्रयास गरे । मौसमका कारण हेलिकप्टर आउने सम्भावना भएन । शुक्रबार बेलुका एम्बुलेन्समा झापाको बिर्तामोड लगे । बाटैमा उनको मृत्यु भयो । ‘शरीर तातो–तातो भएकाले तै हुन्छ कि भनेर बिर्तासिटी अस्पताल त पुर्‍यायौं,’ मीनाका श्रीमान् नन्दकुमार खड्काले भने, ‘तर डाक्टरले सास छैन भनेपछि शव मात्रै फर्कायौं ।’ शव काबेलीमा ल्याएर अन्त्येष्टि गरियो ।

फुङलिङ नगरपालिका ६ कोठेबारीका शिवकुमार गुरुङको झापाको बीएन्डसी अस्पतालमा ज्यान गयो । कोरोनाको पहिलो लहर हराउँदै गएको र दोस्रो लहर आएको पत्तो नभएको अवस्थामा गुरुङ बिरामी भए । कांग्रेस फुङलिङ नगरपालिकाका नगर सभापतिसमेत रहेका गुरुङलाई तमोर अस्पतालमा भर्ना गरियो । अस्पतालले सुविधा भएको अस्पताल जान भनेपछि बिर्तामोडको बीएन्डसी पुयाइएका उनको पुर्‍याएकै दिन मृत्यु भयो । मृत्युपछि गरिएको पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएपछि उनको शव जिल्लामै ल्याएर अन्त्येष्टि गरियो । 

जिल्लामा आईसीयू र भेन्टिलेटर सुविधा नहुँदा संक्रिमतलाई बाहिर पठाउनु परेको छ । संक्रमित भई उपचारका लागि लगिएका धेरैको त्यसैगरी मृत्यु हुने गरेको छ । कतिपयको बाटामै त केहीको अस्पताल पुगेर ज्यान गएको छ । ताप्लेजुङबाट २ सय ३५ किलोमिटर दूरीमा रहेको झापाको बिर्तामोडका अस्पताल पुग्न एम्बुलेन्सलाई कम्तीमा आठ घण्टा लाग्ने भएकाले समयमा पुग्नु पनि चुनौती भएको छ । जिल्ला अस्पतालका डाक्टर सोनिम लामा जब ढिला भइसक्छ, तबमात्रै अस्पताल ल्याउने प्रवृत्तिले समस्या गराएको बताउँछन् ।

बिरामी र परिवारको अवस्था हेरी कतिपयलाई हेलिकप्टर र कतिपयलाई एम्बुलेन्सबाट तत्काल सुविधा भएको अस्पताल जान सल्लाह दिएको लामा बताउँछन् । यही अवधिमा सदरमुकामबाट हेलिकप्टर चार्टर गरेर गएका दुई पुरुष र एक महिलाको पनि ज्यान बचेन । जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति हेमराज कठायतका अनुसार एक जनाको झापा र दुई जनाको काठमाडौंमा निधन भयो । एम्बुलेन्सबाट गएका फुङलिङ नगरपालिका ५ क्याम्पस लाइनकी महिला, एक पुरुषको धरानमा मृत्यु भयो ।

फक्ताङलुङ गाउँपालिका ४ इखावु घरभई फुङलिङ नगरपलिका २ बालमन्दिर बस्दै आएकी महिलाको काबेली नपुग्दै ज्यान गयो । बाटैमा मृत्यु भएपछि त्यही एम्बुलेन्सबाट काबेली नदी शव पुर्‍याएर अन्त्येष्टि गरेको मृतकका छिमेकी मीना गुरुङ बताउँछिन् ।

जिल्लामा कोरोना संक्रमणका कारण १० महिला र ६ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । कोरोनाको दोस्रो लहरपछि शुक्रबार बेलुकासम्म १ हजार ४ सय १ जना संक्रमित भएका छन् । तीमध्ये ८ सय ३२ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या अझै ५ सय ६९ छ । संक्रमित हुनेमा पुरुष ८ सय १४ र महिला ५ सय ८७ छन् भने निको हुनेमा पुरुष ५ सय र महिला ३ सय ३२ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी संक्रमित फुङलिङ नगरपालिकामा ४ सय ६६ जना छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully