परीक्षण घटाउन निर्देशन

असार २०, २०७८

तृप्ति शाही

बैतडी — रोजगारीका लागि भारत गइरहेका सात/आठ जना युवाको समूह शुक्रबार दिउँसो कोरोना परीक्षणका लागि जिल्ला अस्पताल पुग्यो । उनीहरूले कोरोना परीक्षण गरिदिन स्वास्थ्यकर्मीलाई आग्रह गरिरहेका थिए ।

स्वास्थ्यकर्मी भने प्रशासनले परीक्षण नगर्नु भनेकाले हुन नसक्ने बताइरहेका थिए । एकैछिनमा उक्त समूह जिल्ला प्रशासन कार्यालयतर्फ लाग्यो । केही समयपछि फर्केर आएका उनीहरूले प्रशासनबाट अस्पताललाई फोन गरेर शनिबार परीक्षण गर्ने भनेर पठाएको स्वास्थ्यकर्मीहरूलाई सुनाए ।

अचेल जिल्ला अस्पतालमा दिनभर यस्तै दृश्य देखिन्छन् । शुक्रबार बिहान पनि धेरै जना परीक्षण नभएपछि अस्पतालबाट जिल्ला प्रशासनतर्फ लागेका थिए । प्रशासनले भनेपछि मात्रै अस्पतालले उनीहरूको परीक्षण गरिदिएको थियो । केही दिनयता झुलाघाट सीमा नाकामा भारत जानेहरूको कोरोना संक्रमण नभएको रिपोर्ट अनिवार्य गरेपछि परीक्षणका लागि अस्पताल पुग्ने बढेका हुन् । अस्पतालले प्रायःको एन्टिजेन र केहीको पीसीआरबाट परीक्षण गर्दै आएको छ ।

गत साता पुर्चौडी नगरपालिकाबाट भारत हिँडेको १० जनाको समूह कोरोना परीक्षण रिपोर्ट नभएर झुलाघाट नाकाको पुलबाट फर्कनुपरेको दशरथचन्द नगरपालिका–१० का उत्तम चन्दले बताए । ‘पारि अनिवार्य रिपोर्ट माग्छ । वारि सहजै जाँच गर्ने व्यवस्था छैन,’ उनले भने, ‘रोजगारीका लागि भारत जानेहरू यतिबेला मारमा परेका छन् ।’

जिल्ला अस्पतालले परीक्षणका लागि आएका धेरै जनालाई फर्काउँदै आएको छ । जिल्ला प्रशासनले असार १५ गतेबाट आकस्मिकबाहेक भारत जानेको कोरोना परीक्षण नगर्न निर्देशन दिएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनले इमर्जेन्सीबाहेकलाई परीक्षण नगर्नू भनेपछि आफूहरूले गर्न नसक्ने अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने, ‘परीक्षणका लागि भारत जानेहरू नै बढी आउँछन् । प्रशासनले नगर्नू भनेपछि हामीले गर्न सक्ने अवस्था भएन । प्रशासनले भनेपछि गरिदिएका पनि छौं ।’ प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने परीक्षण नगर्ने नै नभनेको दाबी गरे । उनले भने, ‘एक/दुई दिन किट पनि कम छ । नगई नहुनेलाई चाहिँ गर्ने भन्ने छ । रोकेकै चाहिँ छैन ।’

जिल्लामा भारत जानेको परीक्षण रोके पनि भारतबाट आउनेको परीक्षण भने अनिवार्य गरिएको छ । ३/४ दिनयता दिनहुँ १ सयभन्दा बढी नेपाली झुलाघाट नाकाबाट भारत गइरहेका छन् । नेपालतर्फ फर्किनेको संख्या भने न्यून छ । परीक्षण नभइरहेको गुनासो बढेपछि शनिबारबाट जिल्ला प्रशासनले अवस्था हेरेर गर्नु भनेकाले केही सहज भएको अस्पतालले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully