२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भीर चढेर मेलम्चीको बाढीबाट जोगिएका इन्जिनियर

काठमाडौँ — संखुवासभा मादी राम्बेनीका दिनेश दाहाल बीस महिनाअघि इलेक्ट्रोनिक इन्जिनियर भएर मेलम्ची पुगेका थिए । सिनोहाइड्रो कर्पोरेसनमा उनले कार्यभार सम्हालिरहेका थिए । कर्मथलोमा उत्साहपूर्वक काम गरेका उनले भीरपाखा चढेर ज्यान जोगाउनु पर्ला भनेर कहिल्यै कल्पना पनि गरेका थिएनन् । तर, गत असार १ गते मेलम्चीमा आएको बाढीले भने उनको मस्तिष्क खल्बल्याइदिएको छ ।

भीर चढेर मेलम्चीको बाढीबाट जोगिएका इन्जिनियर

यसपटक उनले मेलम्ची खानेपानीमा काम गर्दा कतिसम्म जोखिम हुने रहेछ भनेर समेत महसुस गरेका छन् ।मेलम्ची खोलामा पानीको बहाव कहिले घट्ने कहिले बढेको त देखेकै थिए । तर उनले त्यस दिनमा खोलामा लेदो र हिलोसहितको फरक दृश्य देखे ।

साँझ सवा ६ बजे नजिकैबाट आउँदै गरेको खोलालाई उनी नियाल्दै थिए । अकस्मात खोलाले किनारमा रहेका अफिसका पर्खालहरु भत्काउन थाल्यो । तत्काल उनका म्यानेजरले अफिसका सामान निकाल्न सर्कुलेसन गरे । उनीसहित अन्य सहकर्मी अफिसको सामान निकाल्न थाले । अफिसका सामान निकाल्दै गर्दा ड्यामसाइडको करिब ५ सय मिटरमा रहेको अर्को ‘लेभर क्याम्प’ मा रहेको सामान निकाल्न उनलाई आदेश दिए । त्यहीबेला उनी उभिएको जमिनमै हल्लिएको अनुभव गरे । उनले भने, ‘जमिन यसरी हल्लियो कि सायद मैले कहिल्यै यस्तो अनुभव गरेको थिइनँ । ’

त्यसपछि मान्छेहरु कुदाकुद गर्न थाले । के गर्ने कसो गर्ने उनले केही सोच्न सकेनन् । कहाँ भाग्ने ? भाग्ने ठाउँ पनि उनले देखनन् । त्यहीबेला कोही भीरमा चढ्दै गरेको देखे । उनले पनि त्यहीँ बाटो पछ्याए । पछि नफर्की उनी अठ्यारो भीरमा रुखका जरा समात्दै अघि बढ्न थाले । उनलाई कहाँ जाँदै छु के गर्दै छु केही थाहा भएन । उनी भन्छन्, ‘म यसरी आत्तिएँ कहाँ जाने थाहा भएन । कोही भीर चढेको देखेर म नि त्यतै लागेँ ।’ उनी भीर चढ्दै गर्दा उनको कम्मरसम्म पानी आइसकेको थियो । भीर चढ्न सहज थिएन अलिकति पनि खुटा चिप्लियो भने फेरि खोलामा पुग्ने अवस्था थियो । उनका अनुसार भीर डरलाग्दो थियो चढ्न गाह्रो थियो झर्‍यो भने सिधै खोलामा पुगिन्थ्यो ।

जसोतसो उनी भीर चढेर जंगल पुगे एक भारतीय व्यक्ति खोलाबाट बँच्न त्यहाँ पुगेका रहेछन् । उनका शरीरमा कुनै कपडा थिएनन् । दिनेशले उनलाई ज्याकेट लगाइदिए । भीर पार गरेर जंगल पुग्दा उनीसहित १२ जना व्यक्ति त्यहाँ पुगेका थिए । मोबाइल बाल्दै उनीहरु हिँडिरहे । मुसलधारे पानी परिरहेकै थियो । हिँड्नसक्ने अवस्था कसैको थिएन ।

हिँड्दाहिँड्दै उनीहरुले ओढार भेटे । आगो बालेर उनीहरु २ घण्टा ओढारमा बसे । उनीहरुलाई त्यहाँ पनि सुरक्षित महसुस भएन । त्यसबाट उनीहरु मेलम्चीको ड्यामतिर फर्किन थाले । रातभर उनीहरु जंगलको बाटो हिँडिरहे । मध्यरातमा एक घरमा साहारा लिन पुगे । उक्त घरमा पुग्दा कोलाहलको अवस्था थियो । '९ जनामा ६ जना चिनियाँ नागरिकलाई बगाइसकेको रहेछ । बाँचेकामध्ये कसैको टाउको फुटेको थियो कसैको खुटा फ्याक्चर भएको थियो,' उनले सुनाए । उपचारको साधन केही थिएनन् । एक कोठामा २५ जना बसेर रात कटाएको उनले बताए ।

जब उज्यालो भयो तब अब बाँचियो भन्ने महसुस उनलाई भयो । भीरको सहाराले आफू बाँच्न सफल भएको उनले बताए । उनले भने ‘सायद भीर समात्न नसकेको भए आज म बाँच्ने थिइनँ । उनी आफू बाँच्न सफल भए तर सँगैका ८ जना सहकर्मी गुमाउँदा दु:खी छन् । हेलिकप्टरमार्फत् उद्धार गरेर उनी अहिले काठमाडौं आइसकेका छन् । अन्य घाइते सहकर्मीहरुलाई मद्दत गरिरहेका छन् । नेपालमा हाइड्रोको काममा जोखिम रहेको महसुस गर्नुका साथै उनले घाइतेको उद्धारका लागि याचना गरेका छन् ।

प्रकाशित : असार ५, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?