१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइँदै

काठमाडौँ — विभिन्न ७ सामाजिक र व्यापारिक समूहको समन्वयमा फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइँदै

१२ करोड रुपैयाँ संकलन गरेर ल्याउन लागिएको दस वटा अक्सिजन प्लान्टले २४ घन्टामा ५०० बेड र १५० सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्नेछ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रियसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालि अक्सिन प्लान्ट नेपाल ल्याउने प्रक्रियामा सामेल भएका हुन् । मिसन रिबिल्ट नेपालका अध्यक्ष डाक्टर मदन उप्रेतीले फ्रान्सबाट किनिएको अक्सिजन प्लान्ट बढीमा तीन साताभित्र आफूहरुले पाउने बताए । उनले एक साताभित्रमा कुन–कुन अस्पताललाई अक्सिजन प्लान्ट दिने भन्नेबारेमा अध्ययन सकिने बताए । फ्रान्सबाट ल्याइने अक्सिजन प्लान्ट अस्पतालहरूलाई नि:शुल्क दिइनेछ ।

अक्सिजन प्लान्ट किन्न सहकार्य गरिरहेका संस्थाहरुका अनुसार अहिलेसम्म सातै वटा प्रदेशलाई पुग्ने गरेर अक्सिजन प्लान्ट वितरण गर्ने गरी ४ वटा प्राविधिक टोलीले अक्सिजन प्लान्ट राख्ने भनिएका सम्भावित अस्पतालहरुको प्राविधिक परीक्षण गरिरहेको छ । अहिलेसम्म पोखरा, धनगढी र दार्चुलामा अक्सिजन प्लान्ट राखिने टुंगो लागे पनि अन्य स्थानहरुको टुंगो लगाउने प्रक्रिया चलिरहेको छ । बतास फाउन्डेसनका आनन्द बतासले महामारीमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर प्लान्ट किन्ने प्रक्रिया अगाडि बढाइएको बताए ।

प्लान्ट किन्ने प्रक्रियामा सक्रिय क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले कोरोनाको दोस्रो लहर सुरु भएर अक्सिजनको अभावमा बिरामीको मृत्यु बढ्न थालेपछि अक्सिजन प्लान्ट नै किन्ने प्रक्रिया सुरु गरिएको बताए । अक्सिजन फर नेपाल नामक अभियान चलाएर नि:शुल्क अक्सिजन सिलिन्डर वितरणमा सक्रिय आनन्दले पछिल्लो १५ दिनको लगातारको मिहनेतपछि प्लान्ट किन्ने काम सम्पन्न भएको बताए ।

१० मध्ये एउटा अक्सिजन प्लान्ट किन्न काेकाकाेला फाउन्डेसनले सहयाेग गरेकाे हाे ।

अक्सिजन प्लान्ट ल्याउने प्रक्रियामा सामेल संस्थाहरुले सोमबार गरेको भर्चुअल छलफलमा कोरोना संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) का प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँगको समन्वय गरेर फ्रान्समा किनिएको अक्सिजन प्लान्ट कार्गो गरेर नेपाल सरकारले ल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले अक्सिजन प्लान्ट जडान गर्ने काममा स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले पनि सघाउने बताए ।

प्रकाशित : जेष्ठ १७, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?