प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की पनि छन् ।

त्यसैगरी न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई पनि इजलासमा राखिएको छ ।

यसपटक प्रधानन्यायाधीश जबराले आफ्नो कामकारबाहीमा असन्तुष्ट भएका वरिष्ठतम न्यायाधीश कार्कीलाई पनि इजलासमा राखेका छन् । कार्कीले सर्वोच्च अदालतभित्र विकृति विसंगति देखिएको भन्दै निरन्तर प्रश्न उठाइरहेका छन् ।

त्यसपछिको रोलक्रममा रहेका मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडालाई इजलासमा नराखी डा. आनन्दमोहन भट्टराईलाई इजलासमा राखेका छन् । अनि भट्टराईपछिको रोलक्रममा रहेका अनिलकुमार सिंन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ललाई पनि इजलासमा राखेका छैनन् ।

भट्टराईपछि न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा परेका छन् । केसी यसअघि पनि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्ने इजलासमा थिए । न्यायाधीश श्रेष्ठ यसपटक थपिएका हुन् । न्यायाधीश श्रेष्ठ गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को दल दर्ताको विषयमा फैसला गर्ने न्यायाधीश कुमार रेग्मीसहितको संयुक्त इजलासमा थिए ।

शुक्रबारको इजलासमा संवैधानिक इजलासमा जाने भनी सोझै दर्ता भएका निवेदनका साथै बिहीबार एकल इजलासको आदेशबाट फरवार्ड भएका १९ निवेदनहरु पनि एकसाथ पेस भएका छन् । सांसदहरुले पेस गरेको निवेदन सुनुवाइको आठौं क्रममा रहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

चिकित्सकमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्  । 

कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ । प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘अस्पतालमा राजनीति चल्दैन, हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही गर, दोषीलाई लुकाउन पाइँदैन, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइँदैन,’ भन्दै नारा लगाइरहेका छन् ।

अस्पतालको मूल गेटमा भेला भएर प्रदर्शन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म काममा फर्कन नसक्ने बताएका छन् ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।

जेठ ४ गते भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरेलगायतमाथि हातपात गरेका थिए । डाक्टर साहुका अनुसार आफूहरू पाँच जनालाई लखेटी–लखेटी कुटपिट हुन थालेपछि उनीहरू झ्यालबाट हाम फालेर जोगिएका थिए ।

यसअघि विज्ञप्ति जारी गरी संघकी जिल्ला अध्यक्ष लक्ष्मी केसी ओलीले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएकी थिइन् । संघले घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरूले आईसीयूमा प्रवेश गरी तोडफोडसमेत गरेका थिए ।

घटना छानबिन गर्न स्थानीय प्रशासनले मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दोषीलाई कडा कारबाही हुने आश्वासन दिएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७८ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×