लन्डन — बेलायत सरकारले नेपालमा कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बेलायतले नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
बेलायतबाट बिहीबार पठाइएको ती सहयोग सामग्री शुक्रबार बिहान काठमाडौं पुग्ने छ। उक्त विमानमा नेपाल मेड यूकेबाट प्राप्त १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको छ । गैरआवासीय नेपाली संघ यूके र नेपाली दूतावासको समन्वयमा ती कन्सन्ट्रेटर पठाइएको हो ।
दूतावासले बेलायत सरकारबाट अत्यावश्यक मेडिकल सामग्री तथा खोप सहयोगका लागि विभिन्न तरिकाले पहल गरिरहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जनाइन् ।
विशेषगरी द्विपक्षीय सहयोग अर्थात कोभ्याक्स अन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराइदिने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासको भनाइ छ ।
यहाँबाट अत्यावश्यक सामग्री र खोप जुटाउन बेलायत सरकार, बेलायती संसद सदस्य, गैरआवासीय नेपाली संघ यूके, विभिन्न नेपाली संघसंस्था तथा बेलायती गैर सरकारी च्यारिटी संस्थाहरुसँग भेटघाट, छलफल तथा समन्वय भइरहेको दूतावासले जनाएको छ ।
