भक्तपुर — भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड ३४ लाख ६९ हजार ६ सय २५ रुपैयाँ सहयोग प्राप्त भएको छ । कोभिड यूनिटमा आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणका लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।
संक्रमित बिरामीहरु थपिने क्रम बढेसँगै आइसोलेसन केन्द्र र आकस्मिक सेवामा अक्सिजनको माग बढेपछि नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिको लागि पटक–पटक आग्रह गरेको थियो । वैशाख २७ गते दैनिक ३० सिलिण्डर र २८ गते दैनिक ८० सिलिण्डर अक्सिजन ख्वप अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय समेत गरेपनि निर्णयअनुसार अस्पताले अक्सिजन पाएको थिएन । ‘अक्सिजन अभावमा संक्रमितहरु मृत्यु हुने सम्भावना बढ्न थाल्यो, नगरपालिकाका कर्मचारीहरु विभिन्न अक्सिजन प्लान्टहरुमा रातभर ३/४ वटा अक्सिजन प्लान्टमा बसेर अक्सिजन भर्यौं,’ नगरप्रमुख सुनिल प्रजापतिले भने, ‘तर, त्यो लामो समयसम्म सम्भव थिएन, हामीले आफैं अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गर्यौं र सहयोगी हातहरु माझ सहयोगको अपिल गर्यौं ।’
भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १३ गतेसम्ममा १ करोड ३४ लाख ६९ हजार ६ सय २५ सहयोग प्राप्त भएको छ । यसैक्रममा बिहीबार मात्र ७१ लाख ३१ हजार ९ सय २७ आर्थिक सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
कोभिड–१९ को दोस्रो लहर संक्रमण फैलिएपछि नगरपालिकाले वैशाख १७ गतेबाट ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सेवा उपलब्ध गर्दै आएको छ । २४ सै घण्टा २ जना डाक्टर, ६ जना नर्स, १ जना फिजिसियन र १ जना एनेस्थेसियाका विशेषज्ञ र आवश्यक संख्याका कर्मचारी खटाएर सेवा दिँदै आएको छ । आइसोलेसनमा बसुन्जेल सम्पूर्ण सेवा नि:शुल्क प्रदान गर्दै आएको नगरप्रमुख प्रजापतिले बताए । कोभिड–१९ महामारीबीच नगरपालिकाले २०७७ साउन १ गतेदेखि वैशाख मसान्तसम्म मात्रै जनस्वास्थ्य केन्द्रले ९६ हजार १ सय ५७ जना बिरामीलाई सेवा प्रदान गरेको जनाएको छ ।
