सर्वोच्चमा भर्चुअल सुनुवाइ 

जेष्ठ ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाट भर्चुअल सुनुवाइको सुरुवात गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले भर्चुअल सुनुवाइ थालेको हो । सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन पेशीमा परेका थिए ।

सिन्हाको इजलासमा रहेका ६ वटै मुद्दाका कानुन व्यवसायीहरुले अनलाइनबाट बहस गरेका थिए । सर्वोच्चले यसरी भर्चुअल सुनुवाई गर्दा कानुन व्यवसायीहरुलाई कार्यालय(ल फर्म) वा घरबाट मुद्दाको बहस गर्ने सुविधा दिएको छ । 

सुनुवाइ गर्ने न्यायाधीश भने सर्वोच्च अदालतको इजलासमा नै उपस्थित हुन्छन् । प्रारम्भिक सुरु भएका भर्चुअल सुनुवाइ गर्ने इजलासहरुमा कानुन व्यवसायीहरुलाई भौतिक रुपमा उपस्थित हुने अनुमति छैन । तर सर्वोच्च अदालतमा उपस्थित हुन चाहेमा सञ्चार कक्षमा बसेर नै भर्चुअल बहसमा सहभागी हुनसक्ने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए । 

न्यायाधीश सिन्हाको इजलासमा भएका ६ वटा निवेदनहरुमाथिकै सुनुवाइ अनलाइनबाट भएको हो । सुरुवातमा एउटा इजलासबाट भर्चुअल बहसको सुरुवात भएको र यसलाई सरोकारवालाहरुसँगको समन्वयमा अरु इजलासमा पनि विस्तार गरिने सर्वोच्च अदालतले जनाएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully