लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

वैशाख १९, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए । 

‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । आइतबार नै उनको राजीनामा स्वीकृत भएको थियो । 

राजीनामा स्वीकृतलगत्तै सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि निवेदन दर्ता गराएका थिए । उनको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो । जसमध्ये मुख्यमन्त्री पोखरेलको राजीनामापछि एमालेतर्फकी सांसद विमला वलीले माओवादी केन्द्रलाई साथ दिने बताएपछि एमालेलाई एकल बहुमत सरकार बनाउन अप्ठेरो परेको छ । यद्यपि प्रदेश प्रमुखबाट पोखरेलले मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका छन् ।   

 सम्बन्धित समाचार

लुम्बिनी प्रदेश

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully