२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा एकल सरकार बनाउने एमाले संसदीय दलको निर्णय

अमृता अनमोल

बुटवल — मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै लुम्बिनी प्रदेशमा एमालेले एकल सरकार बनाउने गृहकार्य सुरु गरेको छ । 

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा एकल सरकार बनाउने एमाले संसदीय दलको निर्णय

मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने निर्णयसमेत भएको बताए । ‘आजै मुख्यमन्त्रीको शपथ हुने गरी गृहकार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘मुख्यमन्त्री नियुक्तिपछि बिस्तारै मन्त्रिमण्डल विस्तार हुनेछ ।’

नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख धर्मनाथ यादवले प्रदेशसभामा सहभागी दललाई आह्वान गनुपर्ने हुन्छ । प्रदेशप्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने स्रोतले जनाएको छ ।

एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।

एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित थिए । कोभिड संक्रमणका कारण प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ भने उपस्थित थिएनन् । नयाँ राजनीतिक घटनाक्रमहरूबारे नयाँ रणनीति बनाउँदै एमालेले अन्य मन्त्रिमण्डल विस्तार गर्नेसमेत एमाले संसदीय दलको निर्णय छ ।

आजै बिहान मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका थिए । प्रदेशप्रमुखले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएको प्रदेशप्रमुख कार्यलयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासहित ४१ जनाले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सदस्यलाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पक्षमा ल्याउँदै मन्त्री बनाएका थिए । यद्यपि जसपाका ४ सदस्य निलम्बन भएपछि अविश्वासको प्रस्ताव सामना नगरी संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न राजीनामा दिएका थिए ।

प्रकाशित : वैशाख १९, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?