कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

राजमो सांसद शाहीलाई 'कोरोना संक्रमण', चरक अस्पताल प्रहरीको पहरामा

जयसिंह महरा

काठमाडौँ — गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद सदस्य खिमविक्रम शाहीलाई पोखराको चरक अस्पतालमा भर्ना गरिएको छ । उनलाई त्यहाँ कोरोना संक्रमित भनेर भर्ना गरिएको बताइएको छ । 

राजमो सांसद शाहीलाई 'कोरोना संक्रमण', चरक अस्पताल प्रहरीको पहरामा

प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविस्वासको प्रस्तावमाथि मतदान हुने समयमा बुधबार दिउँसो शाहीलाई चरक अस्पताल भर्ना गरिएको हो ।

शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालकी कोभिड- १९ फोकल पर्सन मीना थापाका अनुसार शाहीलाई कोरोना भएको रिपोर्टका आधारमा उपचार भइरहेको हो । उनले भनिन्, '२ लिटर अक्सिजन लगाइरहेका छौं । उहाँको अक्सिजन स्याचुरेसन ९५, ९२ छ ।'

शाहीलाई अस्पतालको कोरोना वार्डमा बुधबार दिउँसो ३ बजेतिर भर्ना गरिएको उनको भनाइ थियो । उनले बिरामी भनिएका सांसद शाहीको अवस्था सामान्य रहेको बताइन् भने त्यसभन्दा बढी जानकारी आफूसँग नभएको बताइन् ।

अस्पताल स्रोतका अनुसार शाहीको आरटी-पीसीआर चरक अस्पतालमा गरिएको होइन । शाहीलाई कोरोना भएको भनेर पोखराकै लाइफ केयर डायग्नोस्टिक प्रालिमा आरटी-पीसीआर परीक्षण गरिएको र त्यसमा कोरोना संक्रमित भएको देखिएको छ ।

सांसद शाहीलाई चरक अस्पतालकी कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा. क्लारा पौडेल लगायतको रेखदेखमा राखिएको बताइएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले शाहीको स्वाब मंगलबार लिएको थियो । जसको रिपोर्ट बुधबार आएको थियो । उक्त रिपोर्टमा शाहीमा कोरोना संक्रमण नरहेको उल्लेख छ ।

गण्डकीमा सरकार चलाइरहेको नेकपा (एमाले)ले मंगलबार सबै सांसदको पीसीआर परीक्षण माग गर्दै प्रदेश सभा अवरुद्ध गरेको थियो । त्यसपछि मंगलबार नै सबै सांसदको स्वाब संकलन गरिएकोमा बुधबार बिहान रिपोर्ट आएको थियो । जसमा तीन जना प्रदेश सभा सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमा शाही थिएनन् ।

चरक अस्पताल प्रहरीको पहरामा

प्रदेश सभा सदस्य शाहीलाई भर्ना गरिएको चरक अस्पताललाई प्रहरीले दिउँसोदेखि नै पहरा दिइरहेको छ । त्यहाँ प्रहरीको बाक्लो उपस्थिति रहेको छ । शाही अस्पताल भर्ना भएसँगै प्रहरीले अस्पताल वरपर पहरा दिइरहेको छ ।

प्रदेश सभा सदस्यलाई अविश्वासको प्रस्तावमाथि आफ्नो मत दिनबाट रोकेर अस्पतालमा 'बन्दी बनाइएको' भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभामा 'अविश्‍वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?' हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । उनले सांसद शाहीलाई राखिएको चरक अस्पतालमाथि पनि प्रश्न उठाएका छन् ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास गर्नका लागि प्रदेश सभामा ३१ सदस्यको आवश्यकता पर्छ । गण्डकी प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक सांसद स्वतन्त्र छन् ।

एमाले बाहेकका दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री गुरुङ भने आफ्नो कुर्सी जोगाउन विभिन्न प्रयास गरिरहेका छन् । उनले काठमाडौंमा आएर जनमोर्चाका शीर्ष नेताहरूसँग छलफल गर्नेदेखि लिएर अविश्वास प्रस्ताव आउने थाहा पाएलगत्तै रातारात प्रदेश सभा अधिवेशन अन्त्य गर्नेसम्मका कदम चालिसकेका छन् ।

जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेकाले अवस्था पत्ता लगाउन र जीवन रक्षाको माग गर्दै उक्त दलकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी थिइन् । उक्त निवेदनका आधारमा प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : वैशाख १५, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?