जनमोर्चाका सांसद शाही 'आईसीयू'मा - समाचार - कान्तिपुर समाचार

जनमोर्चाका सांसद शाही 'आईसीयू'मा 

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको 'आईसीयू'मा भर्ना भएको बताइएको छ ।

फाइल तस्बिर : आईसीयूमा भर्ना भएका जनमोर्चाका सांसद खिमविक्रम शाही

शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए । तर उनले अस्पतालको नाम भने बताउन चाहेनन् । स्रोतका अनुसार उनलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको छ । ‘दिउँसो १२ बजे शाही अचानक बेहोस हुनुभयो । अहिले अस्पतामा उपचार भइरहेको छ । ठाउँ र अस्पतालको नाम भन्न मिल्दैन,’ हमालले भने,‘पोखरा बाहिर चितवनतिर पनि लैजानुपर्ने हुन्छ,’ उनले कस्तो प्रकारको बिरामी भन्ने पनि खुलाएनन् ।

जनमोर्चाकी गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । मंगलबारसम्म सकुशल रहेका शाही अज्ञात रहेको र मत विभाजनको पूर्वार्धमा त्यसो हुनु शंकास्पद रहेको उनको भनाइ थियो ।

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही 'बिरामी' भएको बताइएको छ । राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो ।

प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित : वैशाख १५, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्

सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको छ । 

खिमविक्रम शाही

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा बुधबार मत विभाजन हुने कार्यसूची थियो ।


प्रकाशित : वैशाख १५, २०७८ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×