बिहीबारदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

निजी र सार्वजनिक सवारी दुवै चलाउन नपाइने

वैशाख १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भएको छ । 

यो अवधिभर निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

सभा सम्मेलनमा रोक

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ । विवाह/व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जना सम्म सरिक हुन पाइने छ । 

सार्वजनिक एव निजी सवारी साधनमा रोक

यस अवधिमा सार्वजनिक एवं निजी सवारी साधनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध बोक्ने सवारी, फोहोरमैलाका सवारी विषय उल्लेख गरी सञ्चालन हुन पाउनेछन् ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिएर सवारी साधन प्रयोग गर्न पाइनेछ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रजिअले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ ।

यी उल्लेखित बाहेक अन्य अत्यावश्यक काम(अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था) का लागि सवारी साधनको प्रयोग गर्नु परेमा प्रजिअबाट जारी हुने अनुमति पास लिनु पर्ने छ ।

सम्बन्धित समाचारहरु:

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully