बाँकेमा सोमबार कोरोनाबाट ४ जनाको मृत्यु

वैशाख १३, २०७८

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा सोमबार चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना बाँकेका र एकजना बर्दियाका रहेका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ। वैशाख १२ गते भर्ना भएकी महिलाको सोमबार अपरान्ह पाँच बजे मृत्यु भएको मेडिकल कलेजले जानकारी दिएको छ । यसैगरी खजुरा गाउँपालिका-२ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख ४ गते मेडिकल कलेजमा भर्ना गरेकोमा १२ गते आफन्तले घरतर्फ लगेका थिए । उनको सोमबार ४ बजे मृत्यु भएको छ ।

कोहलपुरमा ४५ वर्षीया महिलाको मृत्यु भएको हो । वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना भएकी कोहलपुर नगरपालिका-५ की ती महिलाको सोमबार बिहान ७  बजे मृत्यु भएको हो । योसँगै हालसम्म बाँकेमा ८९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी, भेरी अस्पतालमा बर्दियाका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचार गरिरहेका उनलाई भेरीमा ल्याइएको थियो । मेडिकल कलेजमा १२ गतेदेखि थिए । भेरीमा सोमबार मध्याह्न १२ बजे पुर्‍याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाका एक सय ५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

रूपा

Link copied successfully