कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि आ-आफ्नै सुर

‘फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्छ’ - माधव नेपाल
‘भोलि (शुक्रबार) आयोजक कमिटीको बैठकमा आउनुभयो भने कारबाही फिर्ता लिन्छु, अरु निर्णय यथावत् छन्’ - केपी शर्मा ओली
बिनु सुवेदी

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई दिन चार घण्टासम्म भएको छलफलले मिल्ने पारा नल्याएपछि दुवैले आ–आफ्नै सुर गर्ने भएका छन् । राजधानीमा बिहीबार करिब दुई घण्टा भएको संवाद बुधबारभन्दा पनि तिक्त भएर सकिएपछि यी दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका हुन् ।

फेरि आ-आफ्नै सुर

भेटघाटपछि कान्तिपुरसँग नेता नेपालले अब सहमतिको सम्भावना सकिएको बताए । ‘हामीले पार्टी बचाउन जोड गरेका हौं तर उहाँको मिल्ने कुरा छैन,’ उनले भने, ‘हिजोको कुराले बरु अलिअलि आशावादी भइएको थियो, आज झन् बिग्रियो । अबको भेटघाट र छलफलको कुनै टुंगो छैन ।’ यी दुई नेताहरूबीच बुधबार भएको संवादमा ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए । नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए । नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए । उनले सहमतिको सालाखाला खाका मागेपछि ओली ‘फेरि भेटौंला’ भन्दै उठेका थिए ।

त्यही बिन्दुबाट बिहीबार संवाद थालनी गरेका नेताहरूबीच छलफल हुँदै जाँदा थुप्रै पटक नोकझोक भयो । नेपालले अब पार्टीलाई कसरी अघि बढाउने भनेर सोधेका थिए । लगत्तै ओलीले शुक्रबारको बैठकमा सहभागी भए बैठक स्थलमा छिर्न नरोकिने र फागुन २३ यता गरिएका सबै कारबाही फिर्ता गर्ने बताएका थिए । नेपालले भने फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्ने अडान राखे । नेपालको उक्त अडान ओलीलाई मन परेन । उनले आफूलाई अप्ठ्यारो परेका बेला सहयोग गरेका माओवादी केन्द्रका नेताहरूलाई पार्टीबाट हटाएर अरूलाई स्वागत गर्न नसक्ने बताए । पार्टी निकै अगाडि बढिसकेको र अदालतले २०७५ जेठ ३ अघिको अवस्थामा पुर्‍याएको कुरा प्राविधिक मात्रै भएको प्रतिक्रिया दिए ।

नेपालले फागुन २८ यताका सबै निर्णय खारेज गरी पुरानै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र त्यतिखेरकै कमिटीहरू ब्युँताउनुपर्ने माग राखिरहेका बेला अध्यक्ष ओलीले भने फागुन २८ मा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकयता जिम्मेवारी प्राप्त गरिसकेका नेताहरूको जिम्मेवारी खोस्न नसकिने बताए । ‘त्यसो भए तपाईंसँग कुरा मिल्दैन,’ नेपालले भने । ‘भोलि डाकिएको आयोजक कमिटीको बैठकमा आउनुभयो भने कारबाही फिर्ता लिन्छु, अरू निर्णय यथावत् छन्,’ अध्यक्ष ओलीले दोहोर्‍याए ।

त्यसपछि ओली बैठकस्थलबाट बाहिरिए, नेपाल ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग करिब आधा घण्टा छलफल गरेर बाहिर निस्किए । दुगडले छलफल सकारात्मक भएको बताए पनि नेता नेपालले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिए । उक्त छलफलबारे आफूनिकट नेताहरूलाई छोटोमा ब्रिफिङ गरेर नेता नेपाल जनकपुरतिर गए । ‘माधवजीसँग कुरा हुँदा उहाँले केही पनि भएन भन्नुभयो,’ नेपालको ब्रिफिङ सुनेका एक नेताले भने, ‘हामीले ओलीजीले के गर्नु हुन्छ रे त भनेर सोध्यौं, माधवजीका अनुसार उहाँले बोलाउने बैठकमा गएदेखि प्रवेश दिनुहुन्छ रे, अनि कारबाही स्थगित गरिदिनुहुन्छ रे । त्यसमा माधवजीको सहमति हुने कुरै भएन ।’

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

आफ्ना निकटस्थहरूसँगको छलफलमा बिहीबार बिहान पनि नेता नेपालले जेठ २ लाई नै एकताबद्ध एमालेको बटमलाइन बनाउने बताएका थिए तर त्यही कुरामा ओलीले असहमति जनाएपछि नेपालले ओलीसँग अबको संवाद अनिश्चित रहेको बताए । नेपाल समूहले गत चैत पहिलो सातादेखि जारी राखेको आफ्नो समानान्तर गतिविधिलाई निरन्तरता दिने निधो गरिसकेको छ ।

‘हाम्रो काम छँदै छ, अब कमिटीहरू बनाउँछौं, संगठन विस्तार गर्छौं र अगाडि बढ्छौं,’ उपमहासचिव घनश्याम भुसालले भने, ‘जेठ २ मै जाऊँ भन्नुको अर्थ त ओलीले यो पार्टीलाई आफ्नो जिम्दारी बनाएको कुराको विरोध हो तर उहाँले त्यही अस्वीकार गर्दा व्यक्तिगत रूपमा पनि मान्छेहरूले आत्मसमर्पण गरेर ओलीको रैती हुन स्वीकार गर्ने भन्ने प्रश्न आयो नि, हामी त्यसो हुन दिन्नौं ।’

बालुवाटार फर्किएपछि अध्यक्ष ओलीले पनि आफ्ना निकटस्थहरूसँग भेटबारे ब्रिफिङ गरेका थिए । उनको ब्रिफिङ सुनेका नेताहरूले पनि छलफल हुनुबाहेक अरू केही पनि कुरा सकारात्मक नभएको बताए । ‘हामीले एकताबद्ध पार्टीका लागि प्रयास गरिरहने हो, दुई दिन निरन्तर बाहिर गईगई छलफल गर्नु भनेको पार्टी एकताका लागि धेरै सकारात्मक कुरा हो,’ ओलीको ब्रिफिङ सुनेका एक नेताले कान्तिपुरसँग भने, ‘तर माधव कमरेड त वार्तासार्ता गरेर जनकपुर जानुभयो । यहाँ यस्तो छ, पार्टीमा स्पष्टीकरण सोधिएको छ । भोलि बैठक छ, उहाँ जनकपुरतिर चल्दिनु हुन्छ । तपाईं आफैं भन्नुस् न, पार्टी एकताका लागि को जिम्मेवार छ ?’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अहिले छलफल हुनु सकारात्मक भए पनि कुनै निष्कर्ष भने ननिस्किएको बताए ।

ओली–गौतम भेट

नेकपा विभाजनपछि कतै नलागेका र सर्वोच्चको फागुन २३ को फैसलापछि सुषुप्त अवस्थामा रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीसँग भेटेका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनले पार्टी एकताका लागि लिइएको पहलकदमीले आफू खुसी भएको बताएका थिए । उसो त बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि नेपालले पनि गौतमसित परामर्श गरेका थिए । गौतमसँगको भेटमा पनि ओलीले नेपालसँगको छलफल त्यति सकारात्मक नभएको बताएका थिए । गौतमले भने सकेसम्म एक हुनै सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।

तस्बिर : विशाल भट्टराईको फेसबुकबाट

एमाले मुख्य सचेतक विशाल भट्टराईका अनुसार भेटपछि गौतमले केपी ओलीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको र अटुट रहने बताएका छन् । ‘केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन, जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले उल्लेख गरेका छन् । पार्टी एकताका लागि अभियान चलाइरहेका गौतम पछिल्लो समय भने छायामा छन् ।

‘एमालेमा रहन नदिन अनेक दाउपेच’

प्रधानमन्त्री ओलीको विसर्जनवादी कदमका कारण पार्टी एकता टुट्न लागेको भन्दै खनाल–नेपालपक्षीय १५ नेताले एकताका लागि कार्यकर्तालाई अपिल गरेका छन् । नेकपा स्थापना दिवसका अवसरमा बिहीबार अपिल जारी गर्दै उनीहरूले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको बताएका छन् । ‘फागुन २८ को गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ तर हामी पार्टी एकता जोगाउन चाहन्छौं, त्यसैले हामीले नेकपा (एमाले) को एकतालाई बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं भनेका छौं,’ नेताहरूको अपिलमा छ, ‘त्यसका निम्ति फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ र २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो, त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ । त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ ।’

एमालेको एकता जोगिए कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिने उनीहरूको भनाइ छ । ‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलार्ई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिस्ट आन्दोलनकै विसर्जनको दिशा हो । यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारविरुद्ध उभिनु, त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ, हामीले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरेका छौं,’ अपिलमा छ, ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि २०७५ जेठ २ को बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नॅपर्छ भन्ने हाम्रो माग हो, दाबी हो ।’

उनीहरूले ओलीको व्यक्तिवादी तथा विसर्जनवादी कदम तथा अदालतले न्यायिक दायरा नाघेर गरेको निर्णयले पार्टी विभाजित भएको बताएका छन् । ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले आफैंले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद् विघटन गर्नुभयो, पार्टी एकतालाई भत्काउनुभयो र संसद्को बहुमत गुमाउनुभयो । र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकीकृत पार्टीलाई विभाजन गरेपछि बाँकी रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजित रूपले अगाडि बढिरहनुभएको छ,’ अपिलमा छ, ‘राजनीतिक घटना र कारणलाई हेर्दा नवौं महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभासपूर्ण निर्णयको परिणामका रूपमा आज पार्टीले यो दुर्भाग्य बेहोर्दै छ भन्ने स्पष्ट छ ।’

ओलीको स्पष्टीकरणमा सांसदहरूको जवाफ

प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधेका २७ मध्ये अधिकांश संघीय सांसदले समस्याको कारक स्वयं ओली नै रहेको उल्लेख गर्दै जवाफ पठाएका छन् । स्पष्टीकरणपत्रमा सबै सांसदको जवाफको सार आफूहरू पार्टी विभाजनमा नलागेको भन्ने छ ।

‘पार्टीभित्र भइरहेका विधानविपरीतका कार्यको विरोध गरेको विषयलाई लिएर सांसद पद खारेज गर्ने विषयसँग जोड्नु असंवैधानिक हो,’ वरिष्ठ नेता नेपालको स्पष्टीकरणमा छ, ‘संविधानअनुसार दल त्याग गरे, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा नयाँ दल गठन गरेमा सांसद रहन नसक्ने व्यवस्था रहेकामा पार्टीभित्रका विवादमा बोलेको कुरालाई जोड्नु कानुनसम्मत र युक्तिसंगत छैन ।’

आफूले संविधानविपरीत कुनै काम नगरेको, नयाँ राजनीतिक दल नखोलेको, खोल्न नलगाएको, नचलाएको वा चलाउन नलगाएको नेपालको भनाइ छ । पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमावलीविरुद्ध गरिएका काम सच्याउनका लागि आफूले उठाएको आवाजलाई ओलीले ‘आपराधिक’ देख्नु आफैंमा पार्टीविरुद्धको आपराधिक चिन्तन भएको नेपालको भनाइ छ । उनले फागुन २८ को ओली समूहको निर्णय विधानविपरीत रहेकाले त्यसलाई रद्द गर्नॅपर्ने माग गरेका छन् । अध्यक्ष ओलीले पार्टीमा अनुशासन र अराजकता बढेको भन्दै तीन दिनभित्र जवाफ पेस गर्न नेपालपक्षीय सांसदलाई स्पष्टीकरण सोधेका थिए । त्यसैको जवाफ उनीहरूले बिहीबार दिएका हुन् । जवाफ दिँदै उपमहासचिव घनश्याम भुसालले भनेका छन्, ‘हाम्रो पार्टीको नवौं महाधिवेशनमा बदलिँदो नेपाली समाजको चरित्रलाई ठम्याउने र त्यसअनुसार पार्टीको कार्यदिशा र सिद्धान्तहरू निर्माण गर्ने कुरामा बहस तथा विवाद थिए । मसमेत रहेको पक्षका विचारहरू महाधिवेशनले पारित गरेकै कारणले ममाथि विभिन्न किसिमका आरोप लगाउने काम भइरहेको तथ्य विभिन्न हिसाबले स्थापित नै छ ।’ उनले आफूले पार्टी विभाजन हुने गरी कुनै पनि गतिविधि नगरेको पत्रमा उल्लेख गरेका छन् ।

कर्णालीका ४ एमाले सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेपछि ओलीसहितका नेताहरू त्यसको झिल्को अन्त पनि सल्किन्छ कि भनेर सशंकित छन् । संघीय सरकारमा पनि गठबन्धन सरकार बनाउँदा एमालेका नेताहरूले सहयोग गर्न सक्ने शंकासहित उनले ‘शंकास्पद’ सांसदहरूलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण सोध्नुअघि पनि सांसदहरूसँग फोनमा कुरा गरेका अध्यक्ष ओलीले त्यसपछि पनि एक–एक भेटेर आफूतिर तान्ने कोसिस गरिरहेका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीले हाल चालिरहेका कदम पार्टी विधानविपरीत र नेपालको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिको भएको टिप्पणी गरेका छन् ।

प्रकाशित : वैशाख १०, २०७८ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?