१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हच्किए देउवा

पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ताव दर्ताका लागि देउवालाई दबाब दिँदै आएका छन् । तर देउवा जसपा तयार नभएसम्म संख्या नपुग्ने भन्दै मानेका छैनन् ।

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा बहुमत सुनिश्चित नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्केका छन् । अविश्वास प्रस्ताव दर्ता भए जनता समाजवादी पार्टी (जसपा) ले पनि पक्षमा निर्णय लिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने देउवालाई मनाउने प्रयास जारी राखेका छन् ।

हच्किए देउवा

पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ताव दर्ताका लागि देउवालाई दबाब दिँदै आएका छन् । तर देउवा जसपा तयार नभएसम्म संख्या नपुग्ने भन्दै मानेका छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष निःसर्त प्रधानमन्त्री ओलीलाई हटाउन तयार भए पनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव प्रधानमन्त्री ओलीतिर बढ्दै गएको छ । मधेस र थरुहट आन्दोलनका क्रममा जेलमा रहेका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग कार्यान्वयन चरणमा पुगिरहेको भन्दै ठाकुर र महतो तत्काल वैकल्पिक सरकारको पक्षमा नदेखिएका हुन् । पार्टीभित्र पूर्वसमाजवादी र पूर्वराजपाबीचको फरक धारका कारण जसपा वैकल्पिक सरकारको विषयमा अनिर्णीत बनेको छ । यसैले देउवालाई सकस बनाएको छ ।

देउवाले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा माओवादी अध्यक्ष दाहालसँग धेरै चरणमा अनौपचारिक संवाद गरेका छन् । देउवा र दाहालबीच एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत र अविश्वास प्रस्ताव संसद्मा दर्ता एकसाथ गर्ने गरी कुराकानी भएको थियो । त्यसको सुइँको पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक हठात् अन्त्य गरेको चर्चा कांग्रेस र माओवादी वृत्तमा छ । ओलीको विकल्पका लागि एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत सक्रिय हुन थालेका छन् ।

जसपा तयार नभए पनि आफूहरूले साथ दिने वचन खनाल–नेपाल पक्षले दिएको छ । स्रोतका अनुसार नेपाल र खनालसँग देउवाले मंगलबार गोप्य भेटघाटसमेत गरेका थिए । भेटमा दुवै नेताले जसपाको ठाकुर र महतोले साथ नदिए बहुमत पुर्‍याउन आफूहरूले फ्लोर क्रस गर्ने वचन देउवालाई दिएको दाबी स्रोतको छ ।

कर्णाली प्रदेशमा माओवादीको नेतृत्वमा रहेको सरकार एमालेकै खनाल–नेपाल पक्षको फ्लोर क्रसका कारण जोगिएको थियो । प्रतिनिधिसभामा खनाल–नेपाल पक्षका ३८ सांसद छन् । कांग्रेस, जसपा र माओवादी मिल्दा खनाल–नेपाल पक्षले फ्लोर क्रस नगरे पनि बहुमत पुग्छ । तर जसपाको ठाकुर–महतो पक्षले साथ नदिँदा नेपाल–खनाल पक्षका दर्जनभन्दा बढी सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । त्यसका लागि देउवा ढुक्क देखिएका छैनन् ।

अर्कोतर्फ देउवाको संवाद प्रधानमन्त्री ओलीसँग पनि कायम छ । ओलीले जसपाको साथ लिएर सत्तालाई निरन्तरता दिन खोजेको हो कि भन्ने आशंका पछिल्लो पटक उनलाई परेको छ । ‘ओलीले आफ्नो सत्ता टिकाएर बाँकी अवधि पूरै चलाउन चाहेका हुन् भन्ने लागे देउवा उनलाई हटाउन अग्रसर हुन सक्छन्, ओली निर्वाचनमा जान खोजे देउवाले जुनसुकै कदमलाई साथ दिन सक्छन्,’ देउवा निकट एक नेताले कान्तिपुरसँग भने, ‘आगामी असोज वा मंसिरसम्म निर्वाचन गराउने गरी अघि बढ्ने अनौपचारिक समझदारी ओली, देउवा र ठाकुरबीच पहिल्यै भएको हो ।’ ओली नेतृत्वको सरकारले गराउने निर्वाचन निष्पक्ष नहुने भन्दै वैकल्पिक सरकार बनाउन कांग्रेसबाटै देउवालाई ठूलो दबाब छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिले चैत २० गते आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । देउवाले चैत २७ गते माओवादी र जसपासँग बैठक गरेपछि खासै सक्रियता देखाएका थिएनन् । पछिल्ला साता दिनमा उनले भित्रभित्रै अनौपचारिक कुराकानी र भेटघाट बढाएका छन् । पार्टी पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बुधबार बिहानको बैठकमा पौडेल पक्षले कुरा उठाए पनि देउवाले कुनै प्रतिक्रिया नदिएको नेता अर्जुननरसिंह केसीले बताए । पार्टीको महाधिवेशनसम्बन्धी प्राविधिक विषय मिलाउन बैठक बसेकाले सत्ता समीकरणका विषयमा छलफल केन्द्रित नभएको उनको भनाइ छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बैठकमा अनौपचारिक कुराकानी चल्ने गरे पनि जसपा अनिर्णीत रहेको अवस्थामा अविश्वास प्रस्ताव गर्नु अपरिपक्व हुने बताए । सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगै अघि नबढाए प्रधानमन्त्री ओली निर्वाचनको कोर्समा अघि बढ्ने बुझाइ माओवादीको छ । त्यसैले उसले सरकारलाई दिएको समर्थन फिर्ता लिन आनाकानी गर्दै आएको छ । महतले वैशाख ७ गते दुई दलबीच अविश्वास प्रस्ताव ल्याउने तयारी नभएको समेत दाबी गरेका थिए । प्रतिनिधिसभाको उक्त बैठकमै एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा प्रस्तुत गर्ने र अविश्वास प्रस्तावसमेत दर्ता हुने चर्चा चलेको थियो । ‘बरु, प्रधानमन्त्री नै एमसीसी सम्झौता अनुमोदन गर्न पछि हटेको कुरा आएको छ,’ महतले भने, ‘सर्वदलीय बैठकमा सभामुखले अवरोध गरेको कुरा गरे । एमसीसी सम्झौता अघि बढ्ने भयो भनेपछि आफैं पछि हटेर संसद् बैठक नै हठात् स्थगित गरिदिएको सुनिएको छ ।’

कांग्रेस नेता केसीले ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा आफूहरू दृढ रहेको बताए । ‘संवैधानिक संस्था र संरचनालाई तहसनहस पार्दै कब्जा गर्ने, निरंकुश र स्वेच्छाचारिताका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा हामी दृढ नै छौं । मैले र रामचन्द्रजीले आज पनि त्यही कुरा राख्यौं,’ उनले भने, ‘तर सभापतिजी बोल्नुभएन ।’

प्रकाशित : वैशाख ९, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?