काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कै राजनीतिक दल खोलेको भनेर सोधेको स्पष्टीकरणको जवाफमा नेता माधवकुमार नेपालले प्रतिवाद गरेका छन् । अर्को दल खोलेको भन्ने कुरा असत्य भएको र आफ्नो पक्षले एमालेको विधानविपरीत कुनै पनि कार्य नगरेको पनि प्रष्ट पारेका छन् ।
ओलीले वैशाख ६ गते सोधेको प्रष्टिकरणको जवाफ नेता नेपालले बिहीबार दिएका हुन् । गत चैत पहिलो साता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ललितपुरमा गरेको राष्ट्रिय कार्यकर्ता भेलाले अर्को पार्टी गठन गरेको भन्ने विषयमा ओलीले प्रश्न सोधेका थिए । जसको जवाफमा नेता नेपालले भनेका छन्, 'ललितपुरमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा एमालेको एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो । उक्त भेलाले अलग राजनीतिक दल खोलेको वा गठन गरेको भन्ने कुरा पूर्णरूपमा असत्य हो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा एमालेको उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन ।'
एमालेलाई सैद्धान्तिक र संगठनात्मकरुपमा कसरी सबल बनाउन सकिन्छ र यसलाई विखण्डन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउन चाहनेहरूका दुष्प्रयासहरूलाई कसरी विफल पार्न सकिन्छ भन्नेमा आफू चिन्तित रहेको नेता नेपालले लेखेका छन् ।
नेता नेपालले सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसला अनुसार एमालेका सबै संरचना पूर्ववत् क्रियाशील हुनुपर्ने माग दोहोर्याएका छन् । आफू चिन्तित रहेको र सर्वोच्चको आदेशअनुसार पार्टी चल्नुपर्छ भन्नेमा आफू अडिग रहेकाले पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै विभिन्न कार्यक्रममा क्रियाशील भएको उनको जवाफ छ ।
आफू सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको एमालेको पक्षमा रहँदा पनि 'अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप' भन्नुलाई 'नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्धतिका सम्बन्धमा तपाई स्वयंमा उत्पन्न दृष्टि भ्रम र विचलनको घोतक हो,' भनेर नेपालले जवाफ दिएका छन् ।
'पार्टीका नेताहरुलाई जिम्मेवारीबाट हटाउने, कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनुका साथै स्वेच्छाचारी किसिमले केन्द्रीय कमिटीमा सदस्यहरू थप्ने कार्य गरेको भनी अपानी जारी गर्नु भएकोले राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान र नियमावली मिचेर गर्नुभएको आलोचना गर्दै त्यस्ता गलत कामहरू रद्द गर्न मैले माग गरेको हुँ र मेरो त्यस्तो माग जारी छ,' नेता नेपालले स्पष्टिकरणमा लेखेका छन्, 'पार्टीको विधान विपरीत हुने कुनैपनि निर्णय कानुनी शासन र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सिद्धान्त, नीति, विधान र मान्यताका पक्षधरहरूलाई मान्य नहुने तथ्यतर्फ मैले ध्यानाकर्षण गराइरहनु परेन ।'
पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमावलीका विरुद्ध गरिएका काम सच्याउनको लागि आफूले उठाएको आवाजलाई ओलीले 'आपराधिक' देख्नु आफैंमा पार्टी विरुद्धको आपराधिक चिन्तन भएको नेता नेपालको भनाइ छ । उनले फागुन २८ गतेको ओली समूहको निर्णय विधान विपरीतको भएको र त्यसलाई रद्द गर्नुपर्ने पनि माग गरेका छन् ।
पार्टीभित्र भइरहेका विधान विपरीतका कार्यको विरोध गरेको विषयलाई लिएर सांसद पद खारेज गर्ने विषयसँग जोड्नु असंवैधानिक भएको नेपालको स्पष्टिकरणमा लेखिएको छ । संविधान अनुसार दल त्याग गरे, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा दल गठन गरेमा, नयाँ दल गठन गरेमा सांसद रहन नसक्ने व्यवस्था रहेकोमा पार्टीभित्रका विवादमा बोलेको कुरालाई जोड्नु कानुनसम्मत र युक्तिसंगत नरहेको उनको ठहर छ । आफूले संविधान विपरीत कुनै काम नगरेको, नयाँ राजनीतिक दल नखोलेको, खोल्न नलगाएको, नचलाएको वा चलाउन नलगाएको नेपालको भनाइ छ ।
नेपाल पक्षका २७ प्रतिनिधिसभा सांसद र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई ओलीले स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरण सोधिएकामध्ये केहीले बिहीबार प्रष्टिकरण बुझाइसकेका छन् भने केही बुझाउने तयारीमा रहेका छन् ।
