माओवादी भन्छ : हामीलाई सर्वदलीय बैठकबारे जानकारी नै छैन
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र नजाने भएको छ । आफूहरुलाई सर्वदलीय बैठकबारे कुनै जानकारी नै नआएको उल्लेख गर्दै माओवादी केन्द्र सर्वदलीय बैठकमा नजाने भएको हो ।
यसअघि शुक्रबार ललितपुरको कोन्ज्योसोममा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गरेको बताएका थिए । प्रधानमन्त्रीको फोन आएको भन्दै उनले सम्बोधन पनि छोट्याएका थिए ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार दाहाल र देउवासँग छलफल गर्न चाहेको बताएका थिए । प्रेस संयोजक सापकोटाले भने, ‘हिजो प्रधानमन्त्रीले अध्यक्षलाई फोन गरेर 'हामी ३ जना बालुवाटारमा बसेर छलफल गरौँ न' भन्नु भएको थियो । तर अध्यक्षले सिंहदरबारमै बैठक बस्दा राम्रो होला भन्नुभएको थियो । प्रधानमन्त्रीले यसबारेमा पछि कुरा गरौँला नि भन्नुभएको थियो । सर्वदलीय बैठक भनेर बोलाइएको होइन ।’
प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा समसामियक राजनीति, संसद्को चालु अधिवेशन र कोरोना महामारीका बारेमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा भने सर्वदलीय बैठकमा भाग लिन बालुवाटार जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । त्यस्तै बैठकमा जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु सहभागी हुने भए पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव पक्ष भने सहभागी नहुने बताइएको छ ।
