यूके भेरियन्टले नेपालमा कोरोना संक्रमण तीव्र, कुन उमेर समूह बढी प्रभावित ?

वैशाख २, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । गत शुक्रबारदेखि बिहीबार २ गतेसम्मको तथ्यांक हेर्ने हो भने २९ हजार ९ सय २८ पीसीआर परीक्षणमा २ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा ९९६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै यस अवधिमा २१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या देशभर ४ हजार ३ सय ८४ रहेको छ भने ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म नेपालमा २ लाख ८२ हजार ५४ जना कोरोना संक्रमित भएकोमा ३ हजार ६६ जनाको ज्यान गएको छ भने २ लाख ७४ हजार ६ सय ४ जना निको भएका छन् ।

चैत २७ गते २८८ ,२८ गते ३३७, २९ गते ३०३, ३० गते ४९६ र ३१ गते ४६० जना संक्रमित देखिएका छन् । वैशाख १ गतेको तथ्यांक हेर्दा संक्रमितको संख्या एकैदिन ५८० पुगेको देखिन्छ । बिहीबार ४ हजार १५२ पीसीआर परीक्षणमा कोरोना संक्रमितको संख्या ४९० रहेको छ । त्यस्तै ५६४ एन्टिजेन परीक्षण गरिएकोमा  ४४ नमुनामा एन्टिजेन पोजिटिभ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

सीमानाकाको हेल्थडेस्कमा परीक्षण गरिएको ११ हजार २९१ एन्टिजेन परीक्षणमा हालसम्म ६०१ जनामा पोजिटिभ केस भेटिएको छ ।

मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही ,चितवन, बाँके ,पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुंगलाई कोरोनाको अति प्रभावित जिल्ला भनेर वर्गीकरण गरेको छ । बिहीबार २४ घण्टामा सबैभन्दा बढी संक्रमितहरु काठमाडौँमा १४५, ललितपुरमा ४३, कास्की ३८, बाँकेमा ८९, रुपन्देही १६, चितवन ३, पर्सा २, मोरङ १३, भक्तपुरमा ८, बाग्लुङ ८ जना संक्रमित भेटिएका छन् ।

कुनै समय हटस्पट बनिसकेका जिल्लामा कोरोना संक्रमण बढ्दो देखिन्छ । पर्सामा चैत ३० गते २५ जना ३१ गते ४१ जना संक्रमित थपिएकोमा वैशाख १ गते २६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी बाँकेमा चैत ३० गते ४१ जना देखिएकोमा ३१ गते ५९ र वैशाख १ गते ६७ र वैशाख २ गते ८९ जना संक्रमित थपिए ।

काठमाडौँमा चैत ३० गते १५९ र चैत ३१ मा १६१ संक्रमित पुष्टि भएकोमा वैशाख १ गते १७३ र वैशाख २ गते १४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर ८० जना आइसियूमा र २५ जना भेन्टिलेटरमा

गत पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने देशभर ९१ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेका छन् । सबैभन्दा धेरै वाग्मती प्रदेशमा आईसीयू ३७ जना र २४ जना भेन्टिलेटरमा रहेका छन् । लुम्बिनी प्रदेशमा ४० जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेका छन् । त्यसैगरी सुदूरपश्चिममा १ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेका छन्  । प्रदेश २ मा ४ जना आईसीयूमा रहेका छन् ।  प्रदेश १ मा ५ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा १ जना रहेका छन् । त्यसैगरी कर्णाली प्रदेशमा ४ जना आईसीयूमा रहेका छन् । र गण्डकी प्रदेशमा संख्या शून्य छ । 

पछिल्लो समय ३० –३९ वर्ष उमेर समूहका संक्रमित बढी 

मन्त्रालयको तथ्यांकमा मंगलबार ९  वर्षसम्म उमेर समूहका ५, १० देखि १९ वर्ष उमेर समूहका ४३, २० देखि २९ वर्षका ११० जना, ३० देखि ३९ वर्षका ११९, ४० देखि ४९ वर्षका ७०, ५० देखि ५९ वर्षका ६७ र ६० देखि माथिका ४६ जना संक्रमित भएका छन्  ।

बुधबार ३० देखि ३९ उमेर समूहका व्यक्तिमा सबैभन्दा बढी १४३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी २० देखि २९ वर्ष उमेर समूहका १३८ , ४० देखि ४९ वर्ष उमेर समूहका १०२, ५० देखि ५९ वर्ष उमेर समूहका ६९, १० देखि १९ वर्ष उमेर समूहका ४८, ६० देखि ६९ वर्ष उमेर समूहका २८, ० देखि ९ वर्ष उमेर समूहका २२ , ७० देखि ७९ वर्ष उमेर समूहका २२, ८० देखि ८९ वर्ष उमेर समूहका ६ र ९० देखि १०० वर्ष उमेर समूहका २ जना रहेका छन् ।

वैशाख २ गते बिहीबारको तथ्यांक हेर्दा ३० देखि ३९ वर्ष उमेर समूहका ११४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी २० देखि २९ वर्ष उमेर समूहका १०७, ४० देखि ४९ वर्ष उमेर समूहका ९२, ५० देखि ५९ वर्ष उमेर समूहका ७२, ६० देखि ६९ वर्ष उमेर समूहका ३३, ७० देखि ७९ वर्ष उमेर समूहका १२, ८० देखि ८९ वर्ष उमेर समूहका ५, ० देखि ९ वर्ष उमेर समूहका १२ र ९० देखि १०० वर्ष उमेर समूहका २ जना संक्रमित भेटिएका हुन् ।

संक्रमण बढ्नुमा यूके भेरियन्ट जिम्मेवार 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा कोरोना संक्रमण बढ्दै गएको र विशेषत बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडा रुपमा पालना गर्नुपर्ने बताउँछन् । 

नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार एक रिपोर्ट सार्वजनिक गर्दे हङकङस्थित विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त प्रयोगशालामा एसजिन नेगेटिभ भएका १० र एसजिन पोजिटिभ भएका ५ वटा नमुनाको जिनोम सिक्वेन्सिङका लागि पठाइएकोमा नेपालमा पनि पहिलो पटक डबल म्युटेन्ट भेरियन्ट देखिएको पुष्टि गरेको थियो ।

परीक्षणमा मध्ये २१ देखि ५९ वर्ष उमेर समूहका ९ जनामा यूके भेरिएन्ट (बी.१.१.७) देखिएको छ । ती ९ जनामध्ये कास्कीका २ जना, काठमाडौंका ४ जना, भक्तपुरमा २ जना र नुवाकोटका १ जना छन् । त्यस्तै दार्चुलाबाट संकलन गरिएको एउटा नमुनामा भने ‘भेरिएन्ट अफ नन कन्सर्न’ देखिएको छ ।

काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएको छ । यूके भेरिएन्ट देखिनेमा ४ वर्षमुनिका २ जना, ५–९ वर्षका १ जना, १०–१४ वर्षका ३ र १६–१९ वर्षका ४ जना छन् । ललितपुरबाट संकलन गरिएको नमुनामा डबल म्युटेन्ट भेरियन्ट देखिएको पुष्टि गरेको छ ।

पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलको भनाइ छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully