कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

केही दिनभित्र नयाँ सरकार गठन हुन्छ : दाहाल 

'विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गरिएको छ, त्यसलाई पुनर्मिलन गराउन चाहन्छौं'

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको अगुवाइमा तीन दलको बैठक बसेको एक दिनपछि शनिबार दाहालको यस्तो प्रतिक्रिया आएको हो । 

केही दिनभित्र नयाँ सरकार गठन हुन्छ : दाहाल 

नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकमा बोल्दै दाहालले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताएका हुन् ।

'नयाँ सरकारको गठनमा छौं । केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । कालो बादल हट्छ भन्नेमा म आशावादी छु । त्यो प्रयासमा हामी निरन्तर प्रयासरत छौं,' दाहालले भने । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार सरकार गठनका विषयमा माओवादी र जनता समाजवादी पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका थिए । सोही विषयलाई दाहालले शनिबारको अभिव्यक्तिमा केही दिनभित्र सरकार गठन हुने दाबी गरेका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँताएकोमा पनि दाहालले आपत्ति जनाएका छन् । 'विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गरिएको छ, त्यसलाई पुनर्मिलन गराउन चाहन्छौं । नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत यसबीचमा भएका ज्यादतीलाई सच्याउन चाहन्छौं,' उनले भने । राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न दलहरू लागिरहेको पनि उनले बताए ।

राजनीतिक परिस्थिति अझै सहज भइनसकेको दाहालको भनाइ थियो । 'संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको कालो बादल हटिसकेको छैन,' उनले भने ।

अहिले सरकार कसको नेतृत्वमा हुने र प्रधानमन्त्री को हुने भन्ने कुरा गौण भएको दाहालको भनाइ थियो । उनले संविधानअनुसार चल्ने सरकार हुनुपर्ने कुरा राखेका थिए । संविधान संशोधन र परिमार्जन गरेर जानुपर्ने पनि बताएका छन् । जसपाले बारम्बार संविधान संशोधन गर्नुपर्ने माग राखिरहेका बेला दाहालको भनाइ थियो, 'संविधानमा अपुग छ भने परिमार्जन र संशोधन गरेर जानुपर्छ ।'

केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र नियमा विपरीत काम गरिरहेको पनि दाहालको भनाइ थियो । उनले सरकारले राज्यका सबै अंगमा कब्जा जमाएर मुलुकमा अन्यौल र सन्त्रासको अवस्था आएको बताए । तीन राजनीतिक दलहरूबीचको बैठकमा नेताहरूबीच ओलीले त्यस्ता काम गरेको र त्यसलाई रोक्ने विषयमा समझदारी बनेको बताए । उनले भने, 'राज्यका सबै अंगहरूमाथि जबरजस्ती कब्जा जमाउने कुरा छ भन्नेमा तीन दलबीच सहमति थियो ।'

सरकार संविधानअनुसार चल्नुपर्ने र संविधान मिच्ने सरकार ढाल्नुपर्ने दाहालले बताए । यो सरकार धेरै दिन चल्दैन नयाँ सरकार बनेपछि कर्मचारीका माग पूरा हुने पनि उनले आश्वासन दिएका थिए ।

प्रकाशित : चैत्र २८, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?