कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सचेतकको प्रश्न : जनताका बीचमा जाने कुरा प्रतिगमन हुन्छ सभामुख महोदय ?

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले जनतामा जाने कुरा कसरी प्रतिगमन र संविधान विपरीत हुन्छ भनेर प्रतिनिधिसभा बैठकमा प्रश्न गरेकी छन् ।

एमाले सचेतकको प्रश्न : जनताका बीचमा जाने कुरा प्रतिगमन हुन्छ सभामुख महोदय ?

असंवैधानिक रूपमा पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाबाट पुन:स्थापित भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु सही भएको भनिरहेका बेला एमालेकी सचेतकले पनि सोही प्रश्न संसद्‍मा उठाएकी हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा चौधरीले भनिन्, 'जनताको बीचमा जाने कुरा असंवैधानिक हुन्छ र सभामुख महोदय ? जनतामा जाने कुरा प्रतिगमन हुन्छ र महोदय ?'

प्रधानमन्त्रीले असंवैधानिक कदम नचालेको दाबी गरेकी चौधरीले चालेको भए पनि त्यसरी असंवैधानिक कदम चाल्न बाध्य पार्ने को थियो भन्ने प्रश्न उठाएकी थिइन् । 'असंवैधानिक कदम चाल्न बाध्य बनाउनेहरूलाई जनताले, देशले देखिरहेको छ,' उनको भनाइ थियो ।

संसद्‍मा सभ्य भाषा बोल्न र सरकारका राम्रा कामको प्रसंसा गर्न पनि सचेतक चौधरीले आग्रह गरेकी थिइन् । उनले भनिन्, 'सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्‍यो नि ! विरोध मात्रै गर्ने कि सरकारले गरेका राम्रा कामका पक्षमा पनि गर्ने ?'

सरकारले गरेका राम्रा कामको पनि विरोध गर्ने कि ? भनेर चौधरीले प्रश्न गरिन्, 'मेलम्ची पानी तीन दशकपछि काठमाडौंमा प्रवेश गरेको छ, यसको पनि विरोध गर्ने कि ? मुलुक सुरुङ युगमा प्रवेश गरेको छ, यसको पनि विरोध गर्ने कि ? भूकम्पमा ढलेका घर ठडिएका छन् यसको पनि विरोध गर्ने कि ?'

मुलुकमा वर्तमान सरकारको पालामा धेरै पुल बनेको, पानीजहाज चलेको र सबै पालिकाहरूमा अस्पताल पुगेको बताएकी चौधरीले विद्रोही शक्तिलाई वार्ताको टेबुलमार्फत शान्तिको बाटोमा ल्याएको कामको सत्तापक्ष र प्रतिपक्षले प्रसंशा गर्नुपर्ने बताइन् । 'सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुपर्ने बेला विरोध गरिरहेका छौं । यो कस्तो संस्कार हो, कस्तो बुझाइ हो ?,' उनले भनिन् ।

प्रकाशित : चैत्र १८, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?