१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

खनाल-नेपाल समूहको वक्तव्य : ओलीबाट कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्

'नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साँठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो'

काठमाडौँ — नेकपा (एमाले)को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको आरोप लगाएका छन् । 

खनाल-नेपाल समूहको वक्तव्य : ओलीबाट कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्

खनाल-नेपाल समूहका नेताहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेलाई विभाजनमा ओली लागेको पनि आरोप लगाएका छन् । 'नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्,' खनाल-नेपाल समूहले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

पार्टीलाई जोगाउने आफूहरूको प्रस्ताव ओलीले अस्वीकार गरेको पनि यो समूहको आरोप छ । 'हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन,' विज्ञप्तिमा अगाडि भनिएको छ ।

फागुन २३ गतेको सर्वोच्चको फैसलापछि ओलीले पार्टीभित्र स्वेच्छाचारी गतिविधि अगाडि बढाएको यो समूहको ठहर छ । त्यसैको परिणाम नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई गरिएको कारबाही रहेको भन्दै त्यसको बारेमा विज्ञप्तिमा लेखिएको छ, 'वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ । यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो ।'

ओलीले पार्टीभित्र अन्तर्द्वन्द्व चर्काउन दुराशय राखेको पनि खनाल र नेपाल समूहको बुझाइ छ । सरकार भ्रष्टाचारमा लागेको पनि यो समूहको आरोप छ ।

पार्टीभित्र विभाजनको पक्षमा लागेको ओलीका कदमको विरोध गर्न खनाल र नेपाल समूहले कार्यकर्ताहरूलाई आग्रह गरेको छ । 'ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन हामी नेकपा (एमाले) का सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।'

पढ्नुहोस् खनाल-नेपाल समूहको वक्तव्यः

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको छ । आफैले गोप्य सम्झौताका साथ घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको एकीकरणका विरुद्ध अनेकौं पडयन्त्र गर्दै पार्टी एकतालाई भङ्ग गर्न उद्दत केपी शर्मा ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि पुनर्जिवित नेकपा (एमाले) लाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दूस्प्रयत्न भइरहेको छ । नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।

नेकपा (एमाले) एकीकरण पूर्वको स्थितिमा पुनःस्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचनाहरू तथा जनसंगठनहरूलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौं । विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीहरूको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिस्ट पार्टीहरूको एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौँ । तर पार्टी अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन । उल्टै गत फागुन २८ गते हामीहरूलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरियो र कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो । यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा (एमाले) को सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरियो । यस प्रकारको अवैध निर्णय रद्द गरी नेकपा (एमाले) लाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न हामीले केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यालमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गयौँ । तर, पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरूको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन । त्यसकारण नवीं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र संगठनात्मक प्रणालीको रक्षाको लागि यही चैत्र ४र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न हामी बाध्य भयौं राष्ट्रिय कार्यकर्ता मेलाले नेकपा (एमाले) को सबै संरचना सर्वोच्च अदालतको फैसला अनुरुप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई समेत केपी शर्मा ओलीबाट स्वीकार गरिएन ।

प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुयाउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुन्याउने विभिन्न कामहरू भए । भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्नथाल्यो । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरू भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरूमा उहाँलाई पटक-पटक सचेत गराइयो । तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो । यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिस्ट पार्टीका सबै इमान्दार सदस्यहरुको कर्तव्य हुन्थ्यो । हामी त्यही कर्तव्य पूरा गर्न अग्रसर भयो ।

सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै कथित स्पष्टिकरण सोधियो । त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुरायशको हिस्सा थियो । अझ अधि बढेर उहाँबाट यही चैत्र १६ गते वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधान विपरीत स्वेच्छाचारी कार्य भएको छ । यस्तो कार्य पार्टी भित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो । यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको हामी भर्त्सना गर्दछौं । केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन हामी नेकपा । एमाले) का सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आव्हान गर्दछौं ।

झलनाथ खनाल - वरिष्ठ नेता, केन्द्रीय कमिटी

माधवकुमार नेपाल - वरिष्ठ नेता, केन्द्रीय कमिटी

युवराज ज्ञवाली - उपाध्यक्ष, केन्द्रीय कमिटी

अष्टलक्ष्मी शाक्य - उपाध्यक्ष, केन्द्रीय कमिटी

भीम रावल - उपाध्यक्ष, केन्द्रीय कमिटी

घनश्याम भुसाल - उपमहासचिव, केन्द्रीय कमिटी

भीम आचार्य - सचिव, केन्द्रीय कमिटी

गोकर्ण बिष्ट - सचिव, केन्द्रीय कमिटी

योगेश भट्टराई - सचिव, केन्द्रीय कमिटी

मुकुन्द न्यौपाने - स्थायी कमिटी सदस्य

सुरेन्द्र पाण्डे - स्थायी कमिटी सदस्य

प्रकाशित : चैत्र १७, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?