काठमाडौँ — नेकपा एमालेको खनाल-नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको नेता विष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । ओलीले बोलाएको संसदीय बैठकअघि नै खनाल-नेपाल पक्षले सांसदहरुलाई बोलाएको हो ।
खनाल-नेपाल पक्षले भने ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नजाने बताएको छ । एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएका हुन् । नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने बताएका छन् ।
'संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ । संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरूको यहाँ उपस्थिति छ भन्ने उहाँहरूलाई राम्रोसँग थाहा थियो,' उनले भने ।
बुधबारदेखि सुरु भएको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सकिँदै छ ।
१२० सदस्यीय एमाले संसदीय दलमा खनाल-नेपाल पक्षका ४० सांसद छन् ।
