कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ : प्रधानमन्त्री ओली

'चियापानमा एकथरी अनुहार सहभागी नहुनु राम्रो लक्षण होइन'

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूह चियापान कार्यक्रममा सहभागी नहुनु राम्रो लक्षण नभएको बताएका छन् ।

भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ : प्रधानमन्त्री ओली

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एकथरी अनुहारका साथीहरु चियापानमा देखिनु भएन । हिजो बेलुका बैठक बसेर निर्णय गर्नुभयो रे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा जानुहुन्छ । थाहा त सबैलाई छ । यो राम्रो लक्षण हैन ।’

नेपाल समूहले बुधाबार राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई लक्षित गर्दै ओलीले भने, ‘आज कुनै कारणवश आउन भ्याउनु भएन होला । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिने छ ।’

प्रधानमन्त्री ओलीले पार्टीमा अराजकता र एकताविरोधी क्रियाकलापहरुमा छुट नहुने बताए । ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरु (नेपाल समूह) भोलि राष्ट्रिय भेला गर्ने रे, राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने रे, के–के समानान्तर कमिटी बनाउने रे । तर, एउटै पार्टीमा बसेर अबउपरान्त अराजकता, अनुशासनहीनता जस्ता कुराहरु, विधि विधानविपरीतका कुराहरु, पार्टीको एकता विरोधी क्रियाकलापहरुमा छुट हुने छैन ।’ पार्टीमा अनुशासनहीन काम गर्नेलाई पार्टीको विधान र दलसम्बन्धी कानुन प्रयोग गरेर कारबाही गर्ने संकेत पनि ओलीले गरे ।

‘यस्ता कुराहरु मान्य हुन सक्दैन । अचाक्ली भो । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले भाँडभैलो मच्चाउने । सँधै यो चल्दैन ।...पार्टीमा अनुशासनहीन भयो भने पार्टीको विधान, कानुन, संविधान, संसद् नियमावली, दलसम्बन्धी कानुन छ, यी सबै कुराहरुतिर म ध्यानाकर्षण गर्न केन्द्रित गर्न चाहन्छु,’ ओलीले भने, ‘आफ्ना अहंम तुष्टि, अहंकारका लागि मनपरी गर्दै हिँड्न कसैलाई छुट हुँदैन । कानुनका नजरमा सबै बराबर हौँ ।’

लक्ष्मीप्रसाद देवकोटाको कविताको प्रसंग निकाल्दै ओलीले विधि, पद्धतिका कुरा गर्नेले नै कानुन, संविधानको मतलब नगरेको बताए । सर्वोच्चको फैसालाले पूर्ववत: पार्टी हुँदा पनि नेपाल पक्षले छुट्टै बैठक गरेर निहुँ खोजिरहेको ओलीको भनाइ छ । ‘विधि पद्धतिका कुरा गर्ने । देशको संविधान केहीको मतलब छैन । अहंकार, स्वेच्छाचारी हिसाबले... पार्टी ०७५ जेठ ३ अघि फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन्,’ उनले भने ।

बुधबार हुने नेपाल पक्षको भेलामा सहभागी नहुन पनि ओलीले नेता, कार्यकर्तालाई आग्रह गरे ।

‘म सुन्दै छु भोलि भेला हुँदै छ रे । नेकपा एमालेसँग आवद्ध कोही नेता कार्यकर्ताले गुटगत भेला नगर्न नगराउन, त्यस्ता भेलामा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई सजग सचेत गराउन चाहन्छु,’ ओलीले भने, ‘यसपार्टीमा कसैमाथि अन्याय हुँदैन । ठूल्ठूला अपराध भएका छन् । हामीले फराकिलो हृदय लिएका छौं । एकदम अपराध गर्नेलाई पनि स्वागत छ त म भन्दिनँ तर स्वीकार गर्छौं । तर फेरि उही धन्दा उही सिलसिला चल्दैन ।’

नेपाल समूहले तमासा गरेर सञ्चार माध्यमहरुलाई बिजनेस दिएको ओलीको आरोप थियो । नदिन पनि ओली चेतावनी दिए । ‘तमासा गरेर सञ्चारमाध्यमलाई बिजनेस दिने, खेती दिने । के विषयमा आज कलम चलाउँ भनेका बेला फलानो गुटका भेला फलानो ठाँउमा आदि समाचारहरु...त्यो अब हुन सक्दैन,’ ओलीले भने ।

तत्कालीन नेकपाको प्रसंग जोड्दै ओलीले आफूलाई बाटोबाटै अध्यक्ष र दलको नेताबाट हटाएको बताए । ‘विधि पद्धति तपाईंहरुले खुब सुन्नु भएको छ । उहाँहरुले बाटोमै विधि पुऱ्याइदिनु हुन्छ । बाटोमै पद्धति पुऱ्याइदिनु हुन्छ । बाटैमा विधान, बाटैबाट अध्यक्ष, दलको नेता, उपनेता हटाइदिनुभयो । बाटैबाट आदेश फर्मान् । म त कति बिचरा भए हुँला,’ ओलीले भने ।

प्रकाशित : चैत्र ३, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?