कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओलीले जेलमा चाणक्य नीतिबाहेक केही पढेनछन् : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सिद्धान्त, निष्ठा र इमानदरिताको क्षमता नभएको बताएका छन् । नेकपाको दाहाल-नेपाल समूहसँग सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलामा दाहालले प्रधानमन्त्री ओलीले राजनीतिमा निष्ठा देखाउन नसकेको बताएका हुन् ।

केपी ओलीले जेलमा चाणक्य नीतिबाहेक केही पढेनछन् : दाहाल

नेकपाको दाहाल र माधवकुमार नेपाल समूहमा लागेका नेता र कार्यकर्ताहरूलाई एक-अर्काविरुद्ध लगाउने प्रयास गरिएकोले त्यस्तो शंकामा नरहन अध्यक्ष दाहालको आग्रह थियो । 'पूर्व एमालेमा माओवादी नै भइयो कि क्या हो ! प्रचण्डकै कार्यकर्ता भइसकियो त सबै, एमाले त केपी हो भन्छन् । पूर्वमाओवादीतिर पनि माधव नेपालले सिध्याइदिन्छन् कि क्या हो भन्ने पारिदिएका छन्,' दाहालले शनिबार भने, 'केपी ओलीको सिद्धान्तमा, निष्ठामा, इमानदारितामा कुनै क्षमता छैन, एक पैसाको । बेइमानी, जालझेल, छलकपट, फुटाऊ र शासन गर भन्नेमा, जेलमा चाणक्य नीति बाहेक केही पनि पढेनछन् । महाभारत र चाणक्य नीति पढ्या छ र सकुनीको भूमिका खुब मनपर्दो रहेछ उनलाई ।'

दाहालले महाभारतको सकुनी पात्रलाई मन पराउने भएकाले प्रधानमन्त्री ओलीले त्यस्तै जालझेल गरिरहेको आरोप लगाएका छन् । 'अनि उनी सकुनीको भूमिकामा छन् हेर्नुस्,' उनले भने । पार्टीका संगठनहरू अब एकताबद्ध बनाएर लैजानुपर्ने दाहालको भनाइ थियो । केपी ओलीबाट उन्मुक्ति प्राप्त भएकाले अब संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय राजनीतिमा भने अझै आफूहरूको जीत भइनसकेको दाहालको भनाइ थियो । 'हामीले पूरै युद्ध जितिसकेका छैनौं । अहिले पनि चुनौती छन्, जटिता छन् । हामी फैरि पनि आन्दोलनमै छौं । अनेकखालका षडयन्त्र र जालझेल भइरहेका छन्,' उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको अहिलेको नेकपा बनेको र अहिले फेरि एमाले कहाँ छ ? भन्ने प्रश्न उठाइरहेको भन्दै दाहालले विगतको एमाले र माओवादी अहिले नेकपामा रहेको बताए । 'हिजोको एमाले कहाँ छ ? भन्ने हो भने यहिँ छ । मदन भण्डारीको निधनपछि माधवकुमार नेपालले जुन भूमिका खेल्नुभयो उहाँ र माले तथा एमाले नेतृत्व गरेका झलनाथ खनाल पनि यहिँ हुनुहुन्छ । उहाँहरूले जनआन्दोलनसम्म जुन भूमिका खेलेका छन् उहाहरू उहाँहरू यहाँ नै हुनुहुन्छ,' उनले भने । प्रधानमन्त्री पद प्राप्त गर्नका लागि ओलीले जनताको बहुदलीय जनवाद छोडेको दाहालले दोहोर्‍याएका थिए ।

आधिकारिक नेकपा र वैधानिक पक्ष आफूहरू भएको भन्दै दाहालले कार्यकर्ताहरूलाई एकता बलियो पार्नका निम्ती भूमिका खेल्न निर्देशन दिएका थिए ।

प्रकाशित : फाल्गुन १५, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?