३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेकपाका दुवै पक्षसँग कांग्रेस खुला

नेकपा विभाजनको बाटो स्पष्ट भएपछि मात्रै भावी सत्ता समीकरणबारे औपचारिक धारणा बनाउने 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले भावी सत्ता समीकरणका लागि नेकपाका दुवै समूहसँग खुला हुने संकेत दिएको छ । नेकपा विभाजन हुने/नहुने अन्योल यथावत् रहेका बेला कुन पक्षसँगको गठबन्धनमा जाने भन्नेबारेमा कांग्रेसले तत्काल औपचारिक निर्णय नगर्ने भएको हो ।

नेकपाका दुवै पक्षसँग कांग्रेस खुला

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले नेकपाका दुवै पक्षका गतिविधिलाई नियाल्दै केही समय ‘पर्ख र हेर’ को अवस्थामै बस्ने निष्कर्ष निकालेको छ । नेकपामा एकताको सम्भावनासमेत रहेको विश्लेषण गर्दै नेताहरूले दुवै पक्षसँग अनौपचारिक संवादका लागि खुला रहनुपर्ने बताएका थिए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वैचारिक रूपमा प्रधानमन्त्री केपी ओलीसँग सत्ता गठबन्धनमा जोडिन नहुने बताउँदै आएका छन् तर ओलीले पार्टी विभाजनको बाटो लिन कांग्रेसको साथ खोजेमा त्यस्तो बेला नरम बन्न सक्ने संकेत भने दिएका छन् । ‘अहिले संसदीय प्रक्रिया नै सुरु भएको छैन, संसद्मा हाम्रो बहुमत पनि छैन, संसदीय प्रक्रिया सुरु भएपछि नेकपाको स्थिति हेरेरमात्रै कांग्रेसले आफ्नो दृष्टिकोण बनाउने हो,’ पौडेलले कान्तिपुरसँग भने, ‘संवाद गर्ने कुरालाई कांग्रेसले खुला राखेको छ तर अहिल्यै कुन पक्षसँग मिल्ने भन्ने धारणा बनाएको छैन । नेकपाको स्थिति प्रस्ट नहुँदासम्म बनाउन पनि हुन्न ।’

सिटौलाले सरकार बन्न नसक्ने अवस्थामा बाहेक कांग्रेसले सरकारको नेतृत्व लिने वा सरकारमा सामेल हुने कुरा सोच्नै नहुने बताए । उनका अनुसार कांग्रेसलाई प्रतिपक्षमै बस्दा आगामी निर्वाचनमा बढी लाभ हुनेछ । ‘कांग्रेस हतारिएर सरकारमा जाने/नजाने विषयमा छलफल गर्ने, सरकारको नेतृत्व लिने वा सरकारमा सामेल हुने कुरा सोच्नै हुन्न,’ उनले भने, ‘नेकपा विवाद कसरी टुंगिन्छ ? त्यसपछि मात्रै हाम्रो भूमिका के हुने भन्नेमा प्रस्ट हुन्छ । अहिलेसम्म वैधानिक रूपमा नेकपा विभाजित भएको छैन । निर्वाचन आयोगले पनि नेकपा एउटै छ भनेर भन्दै आएको छ । यस्तो बेलामा कांग्रेसले बोल्न उपयुक्त छैन ।’

सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुअघि आफ्नो समूहका नेताहरूसँग बिहान छलफल गरेका थिए । छलफलमा देउवाले दाहाल—नेपाल समूहले सहकार्यका लागि मात्रै प्रस्ताव गरेको जानकारी गराएका थिए । उनले कांग्रेसलाई प्रधानमन्त्री दिने मनस्थितिमा दाहाल—नेपाल समूह नभएको आफ्नो निष्कर्षसमेत निकटवर्तीहरूसँग खुलाएका थिए । ‘बाहिर जति जे भने पनि उनीहरू (दाहाल—नेपाल) ले कांग्रेसलाई प्रधानमन्त्री दिन खोजेका होइनन्, सहकार्यका लागि मात्रै कुरा गर्न आएका हुन्,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । पदाधिकारी बैठकमा देउवाले दुवै पक्षसँग अनौपचारिक संवाद गर्दै जाने र नेकपा विभाजन हुने/नहुने स्थिति हेरेरमात्रै निर्णय लिनुपर्ने धारणा राखेका थिए ।

दुई जना निलम्बनमा परेपछि कांग्रेससँग संसद्मा ६१ सांसद छन् । ओलीलाई कांग्रेससँगको गठबन्धनमा सरकार बनाउन ७७ सांसद आफ्नो पक्षमा राख्नुपर्ने हुन्छ । स्रोतका अनुसार ओली पक्षका नेताहरूले आफ्नो पक्षमा ८० भन्दा बढी सांसद रहेको जानकारी देउवालाई दिएका छन् । कांग्रेससँगको गठबन्धनमा सरकार बन्ने सुनिश्चित भएमा दाहाल–नेपाल समूहमा रहेका सांसद अझै तान्न सकिने विश्वास ओली पक्षले दिएको छ । अहिले नेकपाभित्र दुवै समूह सांसद तानातानमा छन् । सरकार जसको नेतृत्वमा बन्ने अवस्था देखिन्छ, त्यसको पक्षमा सांसद आकर्षित हुने भएकाले दुवै समूहले कांग्रेसलाई विश्वासमा लिन चाहेका छन् ।

ओलीलाई साथ दिँदा नेकपा विभाजन हुने र त्यसको लाभ पार्टीलाई हुने देउवाले ठानिरहेका छन् । त्यसै दिशातिर पार्टीलाई लैजाने जमर्को उनको देखिन्छ । ओलीसँग गठबन्धन गर्दा आफू प्रधानमन्त्री हुने सम्भावना उनले देखेका छन् । दाहाल–नेपाल समूहसँग कांग्रेसले गठबन्धन गर्दा सहज बहुमत पुग्ने देखिन्छ तर देउवाले यो बाटो कांग्रेसका लागि हितकर नहुने ठानेका छन् ।

दाहाल—नेपाललाई साथ दिँदा ओलीले ‘स्टेप डाउन’ गर्न सक्ने भय उनमा देखिन्छ । देउवानिकट स्रोतका अनुसार पार्टीमा किचलो नहुने अवस्था खडा भएमा ओलीसँगको गठबन्धनमा कांग्रेसले सरकारको नेतृत्व लिने पहिलो विकल्प हो । यो सम्भव नभए कांग्रेस सरकार निर्माणको प्रक्रियामै सामेल नभई तटस्थ बस्ने अवस्था पनि आउन सक्ने एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार त्यस्तो अवस्थामा सरकार बन्न कठिनाइ हुन सक्ने देखिन्छ । यस्तो भयो भने फेरि मध्यावधि निर्वाचनमा जाने बाटो खुल्ने विश्लेषणसमेत कांग्रेस नेताहरूले गरेका छन् ।

उपसभापति विमलेन्द्र निधि नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँछन् । ‘राजीनामा नदिएर संसद् फेस गर्ने प्रधानमन्त्रीका सल्लाहकारको भनाइ आइरहेको छ, त्यसो हो भने प्रधानमन्त्रीले विश्वासको प्रस्ताव राखेर वा अर्को पक्षले राखेको अविश्वासको प्रस्ताव सामना गरेर संसद् फेस गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत राख्ने हुन् वा अर्को पक्षले अविश्वासको प्रस्ताव राख्ने हो, प्रस्ट छैन । नेकपाका राजनीति खेलाडीहरू कसरी प्रस्तुत हुन्छन्, त्यसपछि मात्रै कांग्रेसका खेलाडीले आफ्नो खेल देखाउँछन् ।’ अविश्वास वा विश्वासको मतको प्रस्ताव संसद्मा टेबुल भएपछि मात्रै कांग्रेसले आफ्नो औपचारिक धारणा बनाउनुपर्ने निधिको जोड छ ।

त्यसअघि नेकपाको दुवै पक्षसँग संवादका लागि ओपन हुने निष्कर्ष पदाधिकारी बैठकले निकालेको अर्का नेता अर्जुननरसिंह केसीले बताए । ‘नेकपाको स्थिति प्रस्ट नभएसम्म हामी दुवै पक्षलाई निषेध गरेर नजाने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘सैद्धान्तिक रूपमा हाम्रो निकटता दाहाल—नेपाल समूहसँग छ तर नेकपा एउटै भएको अवस्थामा कसैलाई साथ दिने र कसैलाई विरोध गर्ने विषय हुन सक्दैन । दुवै पक्षसँग अनौपचारिक संवाद गर्दै जान्छौं ।’

देउवानिकट अधिकांश नेताहरूले बिहानको बैठकमा कांग्रेसले नेतृत्व लिने अवस्थामा बाहेक सरकारमा सामेल हुन नहुने विचार प्रकट गरेका थिए । नीतिगत रूपमा यस्तो लाइन पार्टीबाट पारित गर्न सकेमा ओलीसँगको गठबन्धनका लागि सहज हुने बुझाइ देउवानिकट सदस्यहरूमा छ । ‘तीन वर्षसम्म कांग्रेसले प्रतिपक्षका रूपमा रहेर नेकपाका नेताहरूको जसरी आलोचना गर्दै आयो, अहिले तीनै नेतामध्ये कसैलाई सरकारको नेतृत्वमा समर्थन गरेर सरकारमा मात्रै सामेल हुने कुरामा जान हुन्न,’ नेता एनपी साउदले भने, ‘सरकार नै नबन्ने स्थितिमा कांग्रेसले नै नेतृत्व पाउने भयो भने राजनीतिक निकास दिन कांग्रेस तयार हुनुपर्छ ।’ बिहानको अनौपचारिक छलफलमा पनि यस्तै सुझाव सभापतिलाई दिएको उनले बताए ।

उनले अर्ली निर्वाचनको विषयसमेत पार्टीभित्र छलफल भएको बताए । २०७४ को निर्वाचनमा नेकपाले पाएको म्यान्डेट समाप्त भएकाले अब बन्ने सरकारले अर्ली निर्वाचनतिर मुलुकलाई लैजानुपर्ने साउदले बताए । ‘पार्टीमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘सर्वदलीय सहमति बनाएर अर्ली निर्वाचनमा जानुपर्छ । अब बन्ने सरकार दुई वर्षसम्म जान सक्दैन ।’

कांग्रेसको साथ पाएमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँछु भनेर प्रधानमन्त्री ओलीले भनेका हुन् भन्ने प्रश्नमा साउदले थपे, ‘कुनै पनि पार्टीलाई तोड्ने, सामेल हुने कुरामा कांग्रेस संलग्न हुन सक्दैन । आपसी झगडाका कारण ओली वा प्रचण्ड र माधव नेपाल समूहले छुट्टै पार्टी बनाएर मार्ग प्र्रशस्त गरे भने त्यसप्रति हाम्रो कुनै नकारात्मक सोच रहँदैन ।’

अर्का नेता सुरेन्द्र पाण्डेले नेकपाका दुवै समूह कांग्रेसका लागि टाढा र नजिकको सम्बन्धमा नरहेको दाबी गर्छन् । ‘पुस ५ गतेअघि सर्वसत्तावाद र अधिनायकवादको बाटोमा दाहाल र नेपाल पनि सँगै थिए,’ उनले भने, ‘सत्ता समीकरण गर्नुपर्दा राष्ट्र र पार्टीलाई हित हुने पक्षसँगै हुन्छ ।’

प्रकाशित : फाल्गुन १४, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?