३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘दाहाल-नेपालले सहकार्यको प्रस्ताव राख्‍नुभयो, हामीले तपाईंहरूको पार्टी कुन हो भनेर सोध्यौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी(जसपा) नेपालका नेताहरुबीच पछिल्लो राजीनितिक घटनाक्रमका बारेमा छलफल भएको छ ।

‘दाहाल-नेपालले सहकार्यको प्रस्ताव राख्‍नुभयो, हामीले तपाईंहरूको पार्टी कुन हो भनेर सोध्यौं’

बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानका निम्ति नेकपा दाहाल–नेपाल पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरुले दाहाल–नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि महतोले बताए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए । उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । हामीले जिज्ञासा राख्यौं, भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा परियो त्यो प्रस्ट हुनुस् र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’

जसपा नेताहरुले पटक–पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरु अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताएका छन् ।

वरिष्ठ नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरु छन् । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसका लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमीकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुन:स्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समीकरणका लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?