ओलीतिर रहेका सांसदहरूकाे मन हामीतिर छ : माधव नेपाल

'न्यायालयले लोकतन्त्र जोगाउन जिम्मेवारीपूर्ण फैसला लिएको छ'

फाल्गुन १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले न्यायालयले लोकतन्त्र जोगाउन जिम्मेवारीपूर्ण फैसला लिएको बताएका छन् । सिंहदरबारमा सुरु भएको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्ने सरकारीको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरेको फैसलालाई लोकतन्त्रको रक्षा भएको टिप्पणी गरेका हुन् ।

'११ गते नै फैसला आउँछ भन्ने लागेको थिएन । त्यसैले हामी चितवन गएका थियौं । न्यायालयले लोकतन्त्र जोगाउन जिम्मेवारीपूर्ण फैसला लिएको छ,' उनले भने ।

उनले नेकपा ओली समूहतिर रहेका सांसदहरुलाई सम्मान गर्न पनि सांसदहरुलाई निर्देशन दिए । 'ओलीसँग रहेका माननीयसँग राम्रो व्यवहार गर्नुहोला । मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहोला,' उनले भने, 'उतातिर रहेका माननीयहरूको मन यतातिर छ, शरीरमात्रै उतातिर हो ।'

पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत बदर गरेको थियो । अदालतले फैसलाको मितिले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश पनि दिएको थियो । त्यसपछि आगामी रणनीतिका विषयमा नेकपा (दाहाल-नेपाल) समूहले संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully