१३ दिनभित्रै संसद् बैठक आह्वान हुन्छ : प्रदीप ज्ञवाली- समाचार - कान्तिपुर समाचार

१३ दिनभित्रै संसद् बैठक आह्वान हुन्छ : प्रदीप ज्ञवाली

सर्वोच्चको फैसला मानेर जाने ओली समूहको निर्णय
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताए ।

समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताए । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, 'हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’ स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने भएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्

दाहाल-नेपालले देउवालाई भने : अब मिलेर जाऔं 

देउवाले दिए जवाफ : पार्टीमा छलफल गरेर जवाफ दिन्छौं
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै दाहाल र नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

दाहाल र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताएका थिए । बैठकपछि अध्यक्ष नेपालले आफूहरुले अब आफ्नो पार्टी मिलेर अघि बढ्न चाहेको र कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउन चाहेको देउवालाई बताएको जानकारी दिए ।

नेकपा अध्यक्ष नेपालले भने, ‘कांग्रेस पार्टी, जसपा र केपी ओलीको प्रतिगमनविरुद्धमा रहेका पार्टीहरुसँग मिलेर जाने पक्षमा हामी छौं । केपी ओलीले राजीनामा दिन्छन् भने सबैभन्दा राम्रो । राजीनामा दिएनन् भने उहाँलाई निकाल्नु पर्छ र अर्को संयुक्त सरकार बनाउनु पर्छ, मिलेर अघि बढ्यौं भन्यौं ।’

देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘उहाँहरुले मिलेर आयौं भनेर सभापतिजीलाई भन्नुभयो । उहाँले पार्टी भित्रमा छलफल गरेर भन्छु भन्नु भएको छ ।’ उनका अनुसार कांग्रेसको शीर्ष नेताहरुसहित पदाधिकारीहरुको बैंठक बिहीबार देउवा निवासमा बोलाइएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×