कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख सरकारका झगडिया र किर्ते, उपराष्ट्रपति चुनावतिर आउनुस् : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख र उपराष्ट्रपतिको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको आलोचना गरेको र सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भनेर प्रधानमन्त्रीले आलोचना गरेका हुन् । 

सभामुख सरकारका झगडिया र किर्ते, उपराष्ट्रपति चुनावतिर आउनुस् : प्रधानमन्त्री ओली

ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा प्रधानमन्त्रीले सभामुख बनाइएको व्यक्ति सरकारको विरुद्धमा मुद्दा हाल्दै हिँडेको र किर्ते काममा लागेको आरोप लगाएका हुन् । 'सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ? सभामुख झगडिया हुन जानुभएको छ,' प्रधानमन्त्रीको भनाइ थियो ।

संवैधानिक परिषद्‍बाट भएका विभिन्न संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परिषद् सदस्यसमेत रहेका सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सोही कुरालाई लिएर प्रधानमन्त्री ओलीले आलोचना गरेका हुन् ।

त्यस्तै, सभामुख सापकोटाल किर्ते गरेको पनि ओलीले आरोप लगाएका छन् । उनले भने, 'उहाँले किर्ते गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा । सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ । साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १०:४० बजे ल्याएको भनेर किर्ते सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ ?,' उनले भने ।

प्रधानमन्त्रीविरुद्ध नेकपाका सांसदहरूले ल्याएको अविश्वासको प्रस्तावको समयलाई लिएर विवाद उत्पन्न भएको थियो । सोही विषयमा प्रधानमन्त्रीले सभामुखको आलोचना गर्दै किर्ते गरेको भनेका हुन् ।

उपराष्ट्रपतिलाई सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभन्दा निर्वाचनमा आउन ओलीले चुनौती दिएका छन् । उपराष्ट्रपति पुनले पत्रकार महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । उक्त भनाइतर्फ इंगित गर्दै ओलीले भने, 'उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ । उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने होइन । संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरू, प्रतिनधिसभा विघटन गरेर बेठिक भयो चुनाव, गर्न पाइँदैन भन्ने होइन ।'

उपराष्ट्रपतिको पदबारे उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, 'उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।'

प्रकाशित : फाल्गुन ८, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?