मुलुकको असामान्य परिस्थितिमा देश भित्र र बाहिरका शक्तिले खेलिरहेका छन् : गृहमन्त्री थापा 

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असामान्य परिस्थिति उत्पन्न भएको र त्यसमा देशभित्र र बाहिरका शक्तिहरूले खेलिरहेको बताएका छन् । 

मुलुकको असामान्य परिस्थितिमा देश भित्र र बाहिरका शक्तिले खेलिरहेका छन् : गृहमन्त्री थापा 

ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा बोल्दै थापाले मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको बताएका हुन् । 'आज हामी एउटा असामान्य परिस्थितिबाट गुज्रिरहेका छौं । आज सदन विघटन भएको छ । आज यो देशलाई अस्थिरतातिर धकेल्ने प्रयत्न गरिएको छ, प्रयास गरिएको छ । किन आज यो परिस्थिति सिर्जना भयो ? किन फेरि यो देशलाई अस्थिरतातिर धकेल्ने षडयन्त्र गरियो ?,' उनले भने, 'यो देशमा अस्थिरता उत्पन्न कुनै बाह्य शक्तिहरूद्वारा होइन स्यम् हाम्रै आन्तरिक पंक्तिबाट अस्थिरताको षडयन्त्र रचियो । देशलाई अस्थिरतातिर धकेल्ने योजना, षडषन्त्र रचियो । आजको यो परिस्थिति हाम्रै पंक्ति हाम्रै पंक्तिबाट हाम्रै भित्र लुकेका अवसरवादीहरू गुटवादीहरू पद लोलुपहरूले जन्माएका हुन् ।'

पार्टीभित्रका व्यक्तिहरूले सिर्जना गरिएको अस्थिरतामा देश बाहिर र भित्रका शक्तिहरूले खेलिरहेको गृहमन्त्री समेत रहेका बादलको भनाइ थियो । 'ती अवसरवादीहरूले, फुटवादीहरूले, ती गुटवादीहरूले, ती पदलोलुपहरूले आजको यो असामान्य परिस्थिति सिर्जना गरेका हुन् । यो असामान्य परिस्थितिभित्र बाह्य र भित्री शक्तिहरू खेलिरहेका छन्,' ती शक्ति को हुन् भन्ने उल्लेख नगर्दै थापाले भने ।

त्यो अस्थिरताबाट मुलुकलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीको नेतृत्वमा अगाडि बढिरहेको थापाको भनाइ थियो । उनले अहिलेको परिस्थितिबारे थप भने, 'नेकपाभित्र लुकेका अवसरवादीहरूले जुन परिस्थिति सिर्जना गरेका छन् त्यसबाट उनीहरू खुसी भएका छन् । आम जनताहरू दु:खि, आक्रोशित भएका छन् ।' ओलीको नेतृत्मा आफूहरूले सुद्धिकरण अभियान सञ्चालन गरिरहेको थापाको दाबी थियो।

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केही मन्त्रीहरू ओली समूहलाई छोडेर आफूतिर आइरहेका छन् भनेर भ्रम फैलाएको थापाले बताए । उनले भने, 'केही मन्त्री फर्कँदैछन् भनेर भ्रम फाले । आज देशव्यापी रूपमा उनीहरूले भ्रम किन फैलाउँदै छन् । किन यस किसिमका कुरा गर्देछन् ? त्यो उनीहरूको आतंक र भयको अविव्यक्ति हो ।'

दाहाल-नेपाल पक्षले जर्मनीका शासक हिटलरका सञ्चारमन्त्री गोयबल्सको जस्तै प्रचारको सहारा लिइरहेको थापाको भनाइ थियो ।

सरकारले लिएको कदम असंवैधानिक, प्रतिगामी हो भनि रहेकाहरूलाई थापाको जवाफ थियो, 'जनताको ताजा जनादेश लिने कुरो लोकतान्त्रिक कदम हो, अग्रगामी हो ।' उनले जस्केलाबाट षडयन्त्रकारी ढंगबाट सरकारको नेतृत्व हत्याउन खोजेपछि त्यस्तो कदम चालिएको दाबी गरे । 'सदन विघटन गर्ने ऐतिहासिक, क्रान्तिकारी, ठूलो राजनीतिक कदम हो, यसको साथसाथै संवैधानिक पनि छ,' उनले भने ।

प्रतिनिधिसभा विघटन हुने र बैशाख १७ र २७ गते घोषणा भएकै मितिमा चुनाव हुने थापाको दाबी थियो ।

गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कानुनको कठघरामा ल्याउने दाबी गरे । 'निर्मलाको हत्यारा, त्यो बलातकारी पनि कानुनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कठघरामा हुनेछ,' उनले भने, 'सबै अपराधीलाई सचेत गर्न चाहन्छु, सरकारले अपराधीलाई कुनै छुट दिने छैन । भ्रष्टाचारीलाई कुनै छुट दिने छैन । शून्य सहनशीलताको नीति लिने हो ।'

प्रकाशित : फाल्गुन ८, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?