काठमाडौँ — सरकारले कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भए पनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बताए । ‘खोप कार्यक्रमको हिसाबले सजिलो हुने गरी दोस्रो मात्रा खोप २ देखि ३ महिनाभित्र लगाउने तयारी थालेका छौं,’ उनले भने । यसबारे आइतबार मन्त्रालयले निर्णय गर्ने स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।
कोभिसिल्ड खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इडिया (एसआईआई) को तथ्यपत्रमा समेत यो खोपको पहिलो मात्रा ०.५ मिलिलिटर लगाएपछि दोस्रो मात्रा ४ देखि ६ सातामा दिन सकिने उल्लेख छ । सिरमको प्रतिवेदनमा विदेशमा भएका अध्ययनहरूमा उपलब्ध तथ्यांक र जानकारीअनुसार पहिलो मात्रा लगाएको १२ सातासम्म दोस्रो मात्रा दिन सकिने जनाइएको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई एसआईआईले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ । एसआईआईको प्रतिवेदनअनुसार क्लिनिकल ट्रायलमा देखिएअनुसार दुई मात्रा कोभिसिल्ड लिएपछि कोभिडबाट सुरक्षित हुन सकिन्छ । कोभिसिल्डको दोस्रो मात्रा लिएको चार सातापछि शरीरमा कोभिडविरुद्घ एन्टिबडी बन्न थाल्ने प्रतिवेदनमा उल्लेख छ ।
डब्लूएचओस्थित विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजीई) ले गत बुधबार पत्रकार सम्मेलनमा अक्सफोर्ड–अस्ट्राजेनेका खोपको दुवै मात्राबीच ८ देखि १२ साताको अन्तर राख्नु महत्त्वपूर्ण हुने जनाएको थियो, जसले खोपको प्रभावशीलता बढाउने बताइएको छ । दोस्रो मात्रा खोपमा अन्तराल बढाउँदा प्रतिरोधात्मक क्षमता हासिल हुने भएकाले समय बढाउने कुरा आएको हो । एसएजीईका प्रमुख डा. आलेहान्द्रो क्रेबिओतोका अनुसार कुनै ठाउँमा कुनै खास प्रकारको कोरोना भाइरसको विस्तार भइरहेको छ भने पनि अस्ट्राजेनेकाको खोप उपयोग गर्न सकिन्छ । यसको उपयोगले जनसंख्यामा गम्भीर रोगको स्तर घटाउन मद्दत मिल्छ ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार कोभाक्स सुविधामार्फत पहिलो चरणमा नेपालमा ‘अक्सफोर्ड–अस्ट्राजेनेका’ को २२ लाख ५६ हजार मात्रा खोप फ्रेब्रुअरी अन्तिमसम्म आउन सक्छ । कोभाक्सले नेपाललाई चार चरणमा २० प्रतिशत जनसंख्याका लागि निःशुल्क खोप दिनेछ ।
