खोप खरिदका लागि विश्व बैंकले ८ अर्ब ७० करोड सहुलियत ऋण दिने

स्वरूप आचार्य

काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ ।

खोप खरिदका लागि विश्व बैंकले ८ अर्ब ७० करोड सहुलियत ऋण दिने

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । ‘विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्नसक्ने छन्,’ उनले कान्तिपुरले लेखेको इमेलको जवाफ दिँदै भने ।

जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो ।

डा. पोखरेलले स्वास्थ्य मन्त्रालयले सिरमसँग प्रति डोज खोप ५ डलरभन्दा कममै खरिद गर्ने भएको हो । ‘हामीले सिरमले भारत सरकारलाई दिएकै मूल्यमा खरिद गर्न प्रस्ताव गरेका छौं । सिरमले थोरै माथि प्रस्ताव गरेको छ,’ उनले भने, ‘त्यसैले रकम ३ देखि ५ डलरको बीचमा नै हुन्छ ।’

उनका अनुसार सिरमले सुरुमा आफूले तोकेको नेपालको आधिकारी प्रतिनिधि हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक्सलाई लोकल एजेन्ट नियुक्त गरी खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । तर, मन्त्रालय भने कुनैपनि स्थितिमा अर्को पक्षलाई सामेल गराएर खोप खरिद गर्ने पक्षमा छैन । त्यसैले मन्त्रालयले हाल विश्व बैंकले दिने भनेको ऋण सहयोगबाट सिधै सिरमलाई आवश्यक रकम दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा भने सिरम पनि सहमत रहेको उनले बताए ।

‘सिरमसँग खोप खरिद गर्न केही रकम अगाडि नै भुक्तानी गर्नुपर्ने हुन्छ । तर हाम्रो खरिद कानुनले त्यसो गर्न दिँदैन,’ उनले भने,‘यसको गाँठो कसरी फुकाउन सकिन्छ भनेर छलफल भइरहेको छ । मन्त्रिपरिषद्ले नै यसबारे छिट्टै केही निर्णय गर्छ होला ।’

डा. पोखरेलका अनुसार विश्व स्वास्थ्य संगठनले ‘कोभिसिल्ड’ खोपलाई मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘कोभिसिल्ड’ले विश्व स्वास्थ्य संगठनको मान्यता पाएपछि विश्व बैंकलाई पनि सो खोप खरिद गर्नका लागि आवश्यक रकम निकासा गर्न कुनै अप्ठेरो हुने छैन । बिहीबार मात्रै विश्व स्वास्थ्य संगठनले अक्सफोर्डले विकास गरेको खोप प्रयोग गर्न अन्तरिम सिफारिम भने दिइसकेको छ ।

‘सबै प्रक्रियाहरु समय तालिका अनुसार नै गयो भने अबको दुई हप्ता जतिमा फेरि खोप नेपाल आउँछ,’ स्रोतले भन्यो, ‘दुई लटमा गरेर लाख खोप दिने प्रस्ताव सिरमको छ । हेर्दै जाउँ के हुन्छ ।’

उनका अनुसार विश्व स्वास्थ्य संगठनले कोभिसिल्डलाई आपतकालिन प्रयोगको मान्यता दिएमा त्यसको केही साता भित्रै कोभ्याक्स अन्तरगतको खोप पनि नेपाल आउने छ ।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएसँगै मन्त्रालयले पहिलो चरणको खोप अग्रपंक्तिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई माघ १४ गतेदेखि दिन थालेको थियो । माघ २४ गतेसम्म देशभर गरेर कुल १ लाख ८४ हजार ८५७ जनाले मात्रै खोप लगाएका थिए । त्यसपछि बाँकी भएको खोप माघ २६ गतेदेखि पत्रकार तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीहरुलाई दिँदैछ ।

प्रकाशित : माघ २९, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?